अपडेट :बझाङमा पहिरोले १७ घर पुरिए सात जनाको मृत्यु

बझाङ । बझाङमा शुक्रवार राती पहिरो जाँदा केदारस्यूँ गाउँपालिका–८ मल्लेस गाउँमा १७ घर पहिरोमा पुरिएका छन् भने सात जनाको मृत्यु भएको छ ।
शनिवार बिहान स्थानीय र सुरक्षाक्रमीहरुले पहिरोमा पुरिएका व्यक्तिको शवहरू बाहिर निकालेका छन् । आफ्नै घरभित्र पुरिएको अवस्थामा ४० वर्षीय राममती जेठारा र उनका छोरा ११ वर्षे प्रयागराज जेठारा र छोरी ७ वर्षीया अस्मिताका शव बाहिर निकालिएको घटनास्थलबाट प्रहरी असई रायभान सिंह एरीले बताउनुभयो ।

उहाँका अनुसार ८० वर्षका दले जेठाराको पनि शव भेटिएको छ भने पहिरोमा पुरिएका अन्य सन्तु जेठारा, गिरिजा जेठारा र लक्ष्मी जेठाराको शव खोजी कार्य भइरहेको छ ।
राती अविरल वर्षासहित गाउँमाथिबाट अलिअलि पहिरो आउँदा जानकारी भएपछि हल्लाखल्ला गरेर राती सबै घरबाट बाहिर निस्क्यौ स्थानीय सुरेश जेठाराले भन्नुभयो, ”उनीहरू भाग्न नसकेर पहिरोमा पुरिहाले ।’ गाउँमा पहिरो आएपछि १८ घर पूर्ण रूपमा क्षति भएका छन् । राती सुतेको अवस्थामा एकाएक पहिरो आउँदा आफू बाँच्नै मुस्किल भयो स्थानीय सुरेशले भन्नुभयो, ”सबैको घरको धन सम्पत्ति र्गा भैँसी बाख्रा पनि पुरिँदा गाउँ नै शोकमा छ ।”

गाँउमाथी सामुदायिक बन थियो यसरी पहिरो आउला भनेर सम्भावनै थिएन नरेश जेठाराले भन्नुभयो, यसपालि के विपद् आइ लागेछ । अहिले पनि गाउँमा पहिरो बग्न रोकिएको छैन । गाउँ जानलाई खोला तर्नु पर्ने भएकाले समस्या छ ।
यो गाउँमा ४० परिवारको बसोबास छ । घटनामा क्षति भएका पीडित परिवारहरूलाई राहत दिनका लागि गृह मन्त्रालयसँग समन्वय भइरहेको प्रतिनिधिसभा सदस्य आशा विकले बताउनुभयो ।

अहिले मृतक शवहरू मात्र निकाल्ने काम भइरहेको छ प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले भन्नुभयो अरू क्षतिको विवरण लिन बाँकी छ ।







प्रतिक्रिया राख्नुहोस्