तपाईँ सुन्दै हुनुहुन्छः

निषेधित क्षेत्रमा जुलुस तथा प्रदर्शन गर्दा प्रहरीद्वारा जनकपुरधाममा बल प्रयोग

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकका राजु सदाको उपचार नपाएर प्रादेशिक अस्पतालको आइशोलेसनमा मृत्यु भएको भन्दै दोषीमाथि कडा कार्वाहीको माग गर्दै आज जनकपुरमा प्रदर्शन गरिएको छ ।

दलित संघर्ष समितिको नेतृत्वमा जनकपुरधामको पिडारी चोकबाट शुुरु भएको प्रदर्शन निषेधित क्षेत्रको रुपमा रहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय क्षेत्र रहेको मधेस भवन अगाडि पुगेपछि प्रहरीले केही राउन्ड हवाइ फायर र अश्रुग्यास प्रहार गरेर भिडलाई तितर वितर बनाउने काम गरेको छ ।

मधेस भवनमा रहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडि हुँदै जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गर्दै जनक चोकमा आएर कोण सभा गर्ने कार्यक्रम दलित संघर्ष समितिले सार्वजनिक गरेको थियो ।

प्रदर्शनकारी मुख्यमन्त्री कार्यालयम प्रवेश गर्न खोज्दा अश्रुग्यास प्रहार र हवाई फायर गरेको प्रहरीले जनाएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि ५ राउण्ड हवाई फायर तथा ६ राउण्ड अश्रु ग्याँस प्रहार गरेर स्थितिलाई नियन्त्रणमा लिईएको धनुषाका प्रहरी उपरीक्षक रमेश वस्नेतले जानकारी दिनु भयो ।

प्रदर्शनकारीहरु मुख्यमन्त्री कार्यालयमा प्रवेश गरी तोडफोड गर्न खोजेको अवस्था आएपछि हवाई चेतावनी स्वरुप हवाई फायर तथा अश्रु ग्याँस प्रहार गरेको प्रहरी उपरीक्षक वस्नेतले जानकारी दिनुभयो ।

उता दलित अधिकार कर्मीहरुले प्रहरीले वल प्रयोग गर्दा आफ्ना तीन जना कार्यकर्ताहरु घाईते भएको जनाएको छ । घाईतेहरुलाई नीजि अस्पतालमा उपचारका लागि भर्ना गरिईएको दलित अगुवाले जनाएको छ ।

गाउँ गाउँबाट हजारौँको संख्यामा दलितहरुलाई जनकपुरधाममा प्रदर्शनका लागि भेला गर्ने काम विहान देखि गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button