आपसी झगडा हुँदा ढुङ्गाले हानेर आफ्नै साथीको हत्या गर्ने पक्राउ
भक्तपुर । भक्तपुरमा आपसी झगडा हुँदा एक जनाले आफ्नै साथीको हत्या गरेका छन् ।
सिन्धुली जिल्लाको तीन पाटा गाउँपालिका घर भई हाल भक्तपुर नगरपालिका ४ गहिटी क्षेत्रमा मजदुरी काम गर्ने ३० वर्षीय इन्द्रबहादुर तामाङले आपसी विवादका क्रममा साथी कृष्ण तामाङ (जडीबुटी)को हत्या गरेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले आपसी विवाद हुँदा इन्द्रबहादुरले कृष्णको टाउकोमा ढुङ्गा प्रहार गरेर हत्या गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिनुभयो ।
आज बिहान हिटीस्थित सार्वजनिक पाटीमा कृष्ण मृत अवस्थामा फेला परेका थिए । अन्दाजी ४५ वर्षका कृष्णको ठेगाना खुलेको छैन ।
मृतक कृष्णको टाउको, निधार र चिउँडोमा चोट लागेको देखिएपछि हत्या आशङ्कामा प्रहरीले अनुसन्धान गर्दा इन्द्रबहादुरले हत्या गरेको स्वीकार गरेको प्रवक्ता गिरीको भनाई छ ।
उनलाई पक्राउ गरी परिसरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्