तपाईँ सुन्दै हुनुहुन्छः

नेपालकै सबैभन्दा होचो स्थल कचनकवलको बजेट पर्यटन र स्वास्थ्यलक्षित

झापा– झापामा नेपालकै सबैभन्दा होचो भूभाग रहेको सुदूर दक्षिणी कचनकवल गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ का लागि पर्यटन विकास, स्वास्थ्य सुदृढिकरण एवम् कृषि क्षेत्रको प्रवद्र्धन लक्षित बजेट निर्माण गरेको छ ।

जिल्लामा सबैभन्दा बढी कोरोना संक्रमित फेला परेको उक्त गाउँपालिकाले बजेटमा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर नीति निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष अञ्जरा आलमले जानकारी दिनुभयो । भारतका कोारोना भाइरसको संक्रमण उच्च दरमा फैलिँदै गएको सन्दर्भमा भारतसँगको खुला सीमाका कारण कचनकवलमा पनि कोरोना भाइरसको जोखिम उच्च रहेकोले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिएको उहाँको भनाइ छ ।

विपन्न आदिवासी तथा मुस्लिम समुदायको बाक्लो बसोबास रहेको सो गाउँपालिकाले कचनकवल स्तम्भ र ऐतिहासिक पोखरीहरुलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गरी पर्यटन क्षेत्रमा पनि उल्लेख्य बजेट विनियोजन गरेको गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । त्यसैगरी, खाद्यान्न उत्पादनमूलक क्षेत्रफल प्रशस्त रहेकोले कृषि क्षेत्रको विकासलाई प्राथमिकता दिइएको छ ।

यही असार १० गते आयोजना गरिएको गाउँसभामा उपप्रमुख निमसरी राजवंशीले आ. व. ०७७÷०७८ का लागि ५३ करोड ८९ लाख ६० हजारको अनुमानित बजेट प्रस्तुत गेकी थिइन् भने अध्यक्ष आलमले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । बजेटमा संघीय सरकारबाट प्राप्त हुने कूल ४६ करोड २६ लाख एक हजार, प्रदेश नं १ सरकारबाट प्राप्त हुने ४ करोड ७३ लाख ५९ हजार र आन्तरिक आय २ करोड ९० लाख रुपैयाँ समेटिएको छ । त्यसबाट चालुतर्फ २८ करोड २३ लाख ४१ ह्जार र पूँजीगततर्फ २५ करोड ६६ लाख १८ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

निति तथा कार्यक्रम र बजेटमाथिको छलफल जारी रहेको बताइएको छ । छलफलपछि आवश्यक परिमार्जनसहित बजेट पारित हुने गाउँपालिकाका योजना अधिकृत केशव मैनालीले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button