मुख्यमन्त्री पौडेलद्वारा होल्डिङ स्टेसनको निरीक्षण

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडामा सञ्चालित होल्डिङ स्टेसन र क्वारेनटाइनको निरीक्षण गर्नुभएको छ ।
जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले सञ्चालन गरेको होल्डिङ स्टेसन र हेटौँडा–९ वडा कार्यालयले सञ्चालन गरेको क्वारेनटाइन सेन्टरको उहाँले आज बिहान स्थलगत निरीक्षण गर्नुभएको हो ।
जिल्ला समन्वय समिति मकवानपुरले हेटौँडा–१०स्थित वन विज्ञान अध्ययन संस्थानको भवनमा वैदेशिक रोजगारबाट फर्किएका जिल्लाका विभिन्न स्थानीय तहका नागरिकलाई होल्ड गराउने उद्देश्यले होल्डिङ स्टेसन सञ्चालनमा ल्याएको छ ।

विशेष गरी रातीमा आउने त्यस्ता नागरिकलाई बढीमा एक रात राख्ने र खाना, पानी र सुत्न समेत मिल्ने गरी व्यवस्थित रूपमा करिब एक सय जनालाई होल्ड गर्न मिल्ने गरी स्टेसन सञ्चालन गरेको छ ।
जिल्ला समन्वय समितिले मकवानपुरका स्थानीय तहहरू एवम् विभिन्न सङ्घ÷संस्थाहरूको सहयोग र सहकार्यमा स्टेसन सञ्चालन गरेको हो ।

गत ज्येष्ठ २९ गतेबाट सञ्चालनमा आएको स्टेसनमा हालसम्म करिब एक सय जनाले सेवा लिइसकेको जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो ।
त्यस्तै उहाँले शुक्रवार बिहान हेटौँडा–९ मा वडा कार्यालयले सञ्चालन गरेको क्वारेनटाइन सेन्टरको समेत निरीक्षण गर्नुभएको थियो । हेटौँडा–९ मा पनि जिससले सम्पूर्ण सामग्री सहयोग गरेर वडा कार्यालयले क्वारेनटाइन सञ्चालन गरेको हो ।
वडामा क्वारेनटाइन सञ्चालन हुँदा बाहिरबाट आउने स्थानीयलाई सजिलो समेत भएको वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

शुक्रवार बिहान स्टेसनको स्थलगत निरीक्षण गर्दै मुख्यमन्त्री पौडेलले व्यवस्थापन राम्रो रहेको बताउनुभयो । उहाँले विदेशबाट आउनेहरूलाई सम्बन्धित स्थानीय तहले व्यवस्थापन गर्ने समय पनि पाउने र रातीमा आउनेहरूलाई आराम गर्न समेत मिल्ने हुनाले यो राम्रो रहेको प्रतिक्रिया दिनुभयो ।
उहाँले सबै जिल्लामा यसको आवश्यकता रहेको बताउनुभयो । निरीक्षणका क्रममा राष्ट्रियसभा सदस्य रामचन्द्र राई, प्रदेशसभा सदस्य जुनेली श्रेष्ठलगायतको सहभागिता थियो ।








प्रतिक्रिया राख्नुहोस्