गुल्मी जिल्ला समाज युकेद्वारा ठुलो परिणाममा स्वास्थ्य सामग्री प्रदान

गुल्मी । गुल्मी जिल्ला समाज युकेले उपल्लो तम्घास आइसोलेसनसहित चार स्थानीय तहको स्वास्थ्य केन्द्रलाई आधुनिक स्वाब सङ्कलन तथा ज्वरो क्लिनिक कक्ष प्रदान गरेको छ ।
चार स्थानीय तहमा छत्रकोट, रुरु क्षेत्र, चन्द्रकोट गाउँपालिका र मुसिकोट नगरपालिकाको स्वास्थ्य केन्द्रलाई एक÷एक थान अत्याधुनिक स्वाब सङ्कलन तथा ज्वरो क्लिनिक कक्ष प्रदान गरिएको सहयोग सामग्रीको व्यवस्थापन गरिरहेका शुभ लक्ष्मी फर्माका व्यवस्थापक होम पल्लीले जानकारी दिनुभयो ।
त्यस्तै गुल्मी जिल्ला अस्पताललाई २० थान पिपिइ सेट र दुई थान थर्मल गन प्रदान गरिएको पल्लीले बताउनुभयो ।
त्यस्तै समाजले जिल्लाका सात स्थानीय तहलाई कोरोना विरुद्ध प्रयोग गरिने महत्त्वपूर्ण स्वास्थ्य सामग्रीहरू प्रदान गरेको छ ।
गुल्मी दरबार, कालिगण्डकी, सत्यवती, इस्मा, धुर्कोट, मालिका र मदाने गाउँपालिकालाई २० थान पिपिइ सेट र दुई थान थर्मल गन प्रदान गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिनुभयो ।
त्यस्तै जिल्ला विपद् व्यवस्थापन समिति, पत्रकार, नगर तथा गाउँपालिका प्रमुखहरूलाई एक÷एक थान के एन नाइन्टी फाइम मास्क समाजले प्रदान गरेको छ ।
समाजमार्फत प्राप्त सबै सामग्रीहरू जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुली र प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले सम्बन्धित स्थानीय तह र गुल्मी अस्पताललाई प्रदान गर्नुभएको थियो ।
गुल्मी जिल्ला समाज युकेका प्रतिनिधि लक्ष्मण गौतमले जिल्लाका सबै किसिमका विपद्हरूमा आफूहरूको साथ र सहयोग यो नौलो नभएको बताउनुभयो ।
उहाँले युके समाजमार्फत आगलागी, बाढी पहिरो, भूकम्प, दीर्घ रोगी र थुप्रै गैरसरकारी कार्यालयहरूलाई सहयोग पुराउँदै आएको बताउनुभयो ।
सामग्री प्रदान गर्दै जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुली र प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले परदेशमा भएर पनि जन्मभूमिप्रति प्रवासीले देखाएको सहयोग अतुलनीय भएको बताउनुभयो ।
गुल्मी जिल्ला समाज युकेलाई विशेष धन्यवाद दिर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा पराजुली र शर्माले गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्