पोखरा महानगरपालिकाले एकीकृत कोषको स्थापना गर्ने
पोखरा । पोखरा महानगरपालिकाले खेलकुद विकासको लागि एकिकृत कोषको स्थापना गर्ने भएको छ ।
खेलकुदको विकासमा नयाँ आयाम थप्न तथा खेलकुदलाई व्यवस्थित गर्नको लागि समेत कोषको आवश्यकता रहेको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बताउनु भएको छ ।
कास्की जिल्ला तेक्वान्दो संघको आयोजनामा भएको डोजाङ प्रमुखलाई राहत तथा संघका पदाधिकारी तथा सल्लाहाकारहरुलाई कोरोना विमा कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख जिसीले कोषको निश्चित मापदण्ड तयार गरेर अघि बढ्ने र त्यसको शुरुवात महानगरले गर्ने जानकारी दिनुभयो ।
अबको खेलकुद निर्वाहमुखी नभई व्यवसायीमुखी हुनुपर्नेमा जोड दिँदै प्रमुख जीसीले खेलकुदले पर्यटन प्रवर्द्धन गर्ने भएकोले पर्यटनबाट आउने केही स्रोत पनि उक्त कोषमा आउने वातावरण बनाउनुपर्ने बताउनुभयो ।
कास्की जिल्ला तेक्वान्दो संघले आफ्ना मातहातका डोजाङ प्रमुखलाई राहत संगै कास्की जिल्ला तेक्वान्दो संघका पदाधिकारी तथा सल्लाहकारहरुलाई कोभिड १९ विमा गरेको छ ।
कोभिड १९ महामारीका कारण करिव तिन महिना देखि अवरुद्ध बनेका पोखराका १४ तेक्वान्दो डोजाङ प्रमुखहरुलाई राहत स्वरुप नगद १० हजार प्रदान गरेको हो भने २० जनालाई १ लाख बराबरको कोरोना विमा समेत गरेको छ ।
गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन गुरुङले डोजाङहरुमा प्रशिक्षण प्रभावित भएका कारण निकै ठुलो समस्या भोग्नु परेकोले डोजाङ प्रमुखहरुलाई राहत प्रदान गरेको जानकारी दिनुभयो ।
राष्ट्रिय खेलकुद परिषदका (राखेप) सदस्य राजेश गुरुङले गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको तयारीका लागि पोखरा महानगरले विशेष रुपमा सोच्न र बजेट विनियोजन गर्न आग्रह गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्