तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना अस्पताल सञ्चालनमा

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगर स्थित महाकाली उपप्रादेशिक अस्पताल परिसरमा निर्माण गरिएको कोरोना अस्पताल (आइसोलेशन भवन) शुक्रबार देखि सञ्चालनमा ल्याइएको छ ।

यही जेठ ७ गते भित्र नै निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएपनि ठेकेदारको लापरबाहीले झण्डै तीन साता ढिलो गरी कोरोना अस्पताल सञ्चालनमा ल्याइएको हो । कुल ९२ लाख ५४ हजार लागतमा निर्माण गरिएको कोरोना अस्पतालको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले शुक्रबार उद्घाटन गर्नुभएको छ ।

५० शैय्याको उक्त कोरोना अस्पतालमा कोरोनाबाट संक्रमित बिरामीहरूलाई राखिने महाकाली उपप्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण दत्त जोशी (बोक्सर) ले जानकारी दिनुभयो ।

कोरोना अस्पताल सञ्चालनमा ल्याइए पनि चेकजाँचका लागि आवश्यक पूर्वाधार, प्रयोगशाला र जनशक्तिको भने अभाव रहेको छ । त्यसका लागि सम्बन्धित निकायमा पहल गरिरहेको अध्यक्ष जोशीको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button