तपाईँ सुन्दै हुनुहुन्छः

पुल निर्माण कार्य अलपत्र परेपछि स्थानीय आक्रोशित

वीरगञ्ज । पप्पु कन्स्ट्रक्सनको लापरवाहीको कारण बारा, पर्सामा निर्माण भई रहेको हुलाकी सडक विस्तार आयोजना देखि वीरगंज पथलैया व्यापारिक मार्ग र तिलावे पुलको निमार्ण कार्य अलपत्र परेपछि स्थानीय बासिन्दा आक्रोशित भएको छ ।

पप्पु कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएको आयोजनाहरु एक पछि अर्को गर्दै अलपत्र भएपछि पप्पु कन्स्ट्रक्सनलाई कारवाही गर्नु पर्ने माग बारा, पर्सामा उठेको छ ।

निर्माण शुरु भएको ७ बर्ष वितिसक्दा पनि तिलावे पुल निर्माण नहुनु हुलाकी सडकको त्यस्तै विजोग र वीरगञ्ज बन्दरगाहदेखि पथलैयासम्मको २८ किलोमिटर सडक ६ खण्डमा बाँडेर बेग्लाबेग्लै ठेक्का लिनेहरु मध्ये पप्पु कन्स्ट्रक्शन र युनाइटेड बिल्डर्सको ठेक्काको निर्माण कार्य सुस्त रहनुले जनताप्रति पप्पु कन्स्ट्रक्सनको उत्तरदायित्व नरहेको सर्वसाधारणहरुले बताएका छन् ।

पप्पु कन्स्ट्रक्सनले जिम्मा लिएको पर्साको हरपतगञ्जदेखि सुक्खा बन्दरगाहसम्मको सडकको प्रगति अहिले सम्म ४५ प्रतिशत मात्र रहेको वीरगञ्ज–पथलैया व्यापारिक मार्ग विस्तार आयोजना प्रमुख सञ्जयकुमार मिश्रले बताउनु भयो ।

व्यापारिक मार्ग विस्तार आयोजनाको मुख्य सडकखण्डमा अवरोध भए पनि पप्पुले ठेक्का पाएको खण्डमा अवरोध नभएको मिश्रले बताउनु भयो ।

पप्पु र लुम्बिनी जेभीले हात पारेको यो ठेक्काको काम पप्पुले जिम्मा लिएको छ । परवानीपुर चोकदेखि गण्डक नहरसम्मको ठेक्का पनि शुरूमा एएमआर र कन्टेक्टसँगको साझेदारीमा पप्पुले लिएको थियो ।

पप्पुले चित्तबुझ्दो काम नगरेपछि आयोजनाले पप्पुको काम खोसेर कन्टेक्टको जिम्मा लगाएको थियो । धेरैतिर हात हाल्ने, तर काम पूरा नगर्ने प्रवृत्ति पप्पु कन्स्ट्रक्सनमा हावी भएपछि अहिले यो निर्माण कम्पनिलाई सरकारले कारवाही गरेको छ ।

देशैभरको ठेक्का ओगटने एउटै काम राम्रो नगर्ने पप्पु कन्स्ट्रक्सनको कारण जनताले निर्माण व्यवसायिलाई हेर्ने दृष्टिकोणमा समेत नराम्रो प्रभाव परेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button