तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा काली मार्सी धान रोप्ने चटारो

 

जुम्ला । जुम्लामा काली मार्सी धानको रोपाइँ सुरु भएको छ । जुम्ला जिल्लाभर रोपाइँ सुरु हुँदा कृषक अहिले खेतमा लगाइएको जौ काट्दै मार्सी रोप्न व्यस्त छन् ।

जिल्लाको सिञ्जा चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गज्र्याङ्कोट र पानसय क्षेत्रमा स्थानीय काली मार्सी र राती मार्सीको रोपाइँ धमाधम हुदैछ ।

जिल्लाको गुठिचौर क्षेत्रमा भने जेठको पहिलो सातादेखि धान रोप्न सुरु भएको हो ।

अग्लो स्थानमा भने जेठको अन्तिममा रोपाइँ गर्ने चलन छ । सिंजा, पानसय र चौधविस गरी तीन क्षेत्रमा विभाजित जुम्लामा जेठ पहिलो साताबाट रोपाई शुुरु हुन्छ । असी क्षेत्र सदरमुकाममा भने खेतीयोग्य जमिनहरूमा घर बनाउने तथा खरिद बिक्री बढेपछि बजार क्षेत्रमा त्यति रोपाइको रौनक छैन ।

तर पनि पछिल्लो समय मार्सी धानको चामलले बजार पाएपछि किसानमा मार्सी रोपाइमा जागरण आएको छ । निकै सङ्घर्ष गरेर उत्पादन हुने मार्सी चामलको बजार प्रशस्त भएपछि अहिले मार्सीको क्षेत्र विस्तार भएको छ । यति बेला देश निरन्तर लकडाउनमा हुँदा पनि मार्सी रोप्न यहाँका किसान व्यस्त भएका छन् ।

कोरोना भाईरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनले मुलुकमा देखा परेको खाद्य सङ्कटले कृषि क्षेत्रलाई प्राथमिकता दिनु पर्ने सिकाई सबैलाई भएको छ ।

स्थानीय किसान हस्त दमाई भन्नुहुन्छ, “जुम्लाको पहिचानसँगै खाद्य सङ्कटलाई समाधान गर्न पनि मार्सी रोप्न आवश्यक छ । खेती योग्य जमिनमा बढ्दै गएको कङ्क्रिट जङ्गल(घर)ले गर्दा उत्पादकत्व घटेको छ । खेतीयोग्य जमिनमा घर लगाउने बेचबिखनमा रोक लगाउनुपर्छ ।”

लकडाउन छ भन्दैमा मार्सी नरोप्ने हो भने जुम्लामा खाद्य सङ्कट भोग्न धेरै समय कुर्नै पर्दैन अर्का किसान अझविरे सार्की भन्नुहुन्छ,“हरेक किसानले थोरै भए पनि मार्सी उत्पादन गर्छ जसले गर्दा दुई/तीन महिना भए पनि गुजारा चल्छ । अब स्थानीय सरकार जुम्लाको कृषिलाई प्रोत्साहन हुने बजेट ल्याउनुको विकल्प छैन ।”

जुम्लाको पातारासी गाउँपालिका समुद्र सतहदेखि २८ सय ५० मिटर उचाइमा धान फल्ने छुमचौर ज्यूलोमा प्रत्येक वर्ष धान दिवसका दिन रोपाई महोत्सव हुन्थ्यो ।

विश्वकै अग्लो स्थानमा धान फल्ने छुमचौर ज्युलो । पर्यटकीय पर्वद्धनका लागि पनि धान रोपाई महोत्सवको आयोजना गरिन्थ्यो । तर यस वर्ष लकडाउनका कारण धान दिवस मनाउने टुङ्गो छैन । यद्यपि त्यहाँ रोपाई भने भइसकेको छ ।

त्यस्तै जुम्लामै पहिलो काली मार्सी धान उत्पादन भएको तातोपानी गाउँपालिकास्थित गुरुफोक्टोमा पनि रोपाई महोत्सव हुने नहुने निश्चित छैन । तातोपानीका अध्यक्ष नवराज न्यौपानेले मार्सीको संरक्षणका लागि पालिकाले आवश्यक नीति बजेट ल्याउने उल्लेख गर्नुभयो ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाका अनुसार जुम्लामा २८ सय हेक्टरमा धान खेती हुने गरेको छ ।

यहाँको रैथाने काली मार्सी धान ४० प्रतिशत रोप्ने गरिन्छ । भने ६० प्रतिशत उन्नजातको धान रोप्ने गरेको तथ्याङ्क रहेको उहाँले बताउनुभयो । कृषि अनुसन्धान केन्द्र विजयनगर जुम्लाले सिफारिस गरेको चन्दननाथ–१ र चन्दननाथ–३ नामको उन्नत जातको धान रोप्ने गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button