गणतन्त्र दिवसमा भीम फेदी कारागारका आठ जनाको कैद माफी
मकवानपुर । गणतन्त्र दिवसको अवसरमा सरकारले दुई सय ३३ जना कैदी बन्दीको कैद सजाय मिनाहा गरेको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज विभिन्न मुद्दामा दोषी ठहर भई बन्दी जीवनमा असल आचरण प्रस्तुत गरेका, ५० प्रतिशतभन्दा बढी कैद भुक्तान गरिसकेका व्यक्तिको कैद सजाय मिनाहा र दण्ड जरिवाना माफी दिनुभएको हो ।
यस क्रममा मकवानपुरको भीम फेदी गाउँपालिकास्थित क्षेत्रीय कारागार भीम फेदी कारागारका एक बाल बन्दीसहित आठ जनालाई कैद माफी दिइएको छ ।
भीम फेदी कारागार कार्यालयले सिफारिस गरेका १५ जना मध्ये आठ जनालाई सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले आज कैद माफीको निर्णय गर्नुभएको हो ।
कैद माफी पाउनेमा हेटौँडा–१७ का रुपेश नेपाल, सर्लाहीका अब्बु मोहम्मद अन्सारी, नवलपुरका मानबहादुर महतो, बर्दियाका केशवबहादुर भुजेल, गुल्मीका नरबहादुर सार्की, काभ्रेका रोमन लामा र महोत्तरीका टङ्कबहादुर खड्का रहेको भीम फेदी कारागारका प्रमुख प्रकाश खनालले जानकारी दिनुभयो ।
भीम फेदी कारागारमा अहिले ९६० जना कैदी बन्दी रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्