रेडियोधर्मी पदार्थको नियमनसम्बन्धी विधेयक स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले रेडियोधर्मी पदार्थको नियमन सम्बन्धी विधेयक, २०७६ माथि राष्ट्रियसभाबाट भएको संशोधनसहित स्वीकृत गरेको छ ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गर्नु भएको रेडियोधर्मी पदार्थको नियमन सम्बन्धी विधेयक, २०७६ माथि राष्ट्रियसभाबाट भएको संशोधन प्रस्ताव बहुमतले स्वीकृत गरेको हो ।
यस्तै बैठकमा नेपाल विशेष सेवा विधेयक, २०७६ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने टेबुल भएको छ ।
बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिकामा सभापति कृष्णभक्त पोख्रेलले कानुन, न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन, २०७७ पेस गर्नुभयो ।
यस्तै शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६ पेस गर्नुभयो ।
बैठकले वार्ता र संवादमार्फत सांसदलाई प्रभावकारी बनाउने सम्बन्धमा आवश्यक अध्ययन गरी सुझाव दिन २०७६ साल साउन २० गते गठन भएको अध्ययन तथा सुझाव संसदीय विशेष समितिको कार्य अवधि सदनको छैठाँै अधिवेशन अवधिसम्म थप गर्न सभामुख अग्निप्रसाद सापकोटाले गर्नु भएको प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
बैठकमा सभामुख सापकोटाले भोलि अपराह्न ४ बजे बस्ने सङ्घीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नेपाल सरकारको आर्थिक वर्ष २०७७/०७८ को राजस्व र व्ययको अनुमान बजेट अर्थ मन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको जानकारी गराउँदै उक्त समय अगावै ३ः४५ बजे नै बैठक कक्षमा प्रवेश गरिसक्न सांसदहरूलाई आग्रह गर्नुभयो ।
प्रतिनिधिसभाको अर्को बैठक भोलि साँझ ६ बजे बस्ने छ ।








प्रतिक्रिया राख्नुहोस्