तपाईँ सुन्दै हुनुहुन्छः

पश्चिमी सीमा क्षेत्रबाट एकै दिन तीन हजार बढी नेपाली नागरिक भित्रिए

कञ्चनपुर । रोजगारी तथा अध्ययनका लागि भारत गएका नेपाली नागरिकहरू मध्ये पश्चिमी सीमा क्षेत्रबाट एकै दिन तीन हजार ५२ जनालाई नेपाल भित्र्याइएको छ ।

सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र कैलाली जिल्लासँग सीमा जोडिएका भारतीय सीमावर्ती क्षेत्रसम्म पुगेर अलपत्र परेका तीन हजार बढी नेपाली नागरिकहरूको शनिवार मात्रै उद्धार गरिएको हो ।

कञ्चनपुरको पश्चिमी क्षेत्र ब्रह्मदेव, दोधारा चाँदनी लगायतका अवैधानिक नाकाबाट भित्रिन खोजेका एक हजार ९३ जनालाई स्थानीय प्रशासनको समन्वयमा नेपाल प्रवेश गराइएको सशस्त्र प्रहरी उपरीक्षक वीर सिंह साहुले जानकारी दिनुभएको छ ।

त्यस्तै, कञ्चनपुर र कैलालीको दक्षिण तिर भारतीय सीमा जोडिएको गौरीफन्टा नाकाबाट शनिवार मात्रै एक हजार नौ  सय ५९ जनालाई नेपाल भित्र्याइएको छ ।

यसअघि जेठ २ गतेदेखि ९ गतेसम्म उक्त नाकाबाट छ हजार तीन सय २० जना नेपालीको उद्धार गरिएको थियो ।

त्यस्तै, बैतडीको झुला घाट नाकाबाट शुक्रवार मात्रै तीन सय ७८ जनाको उद्धार गरिएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीले जानकारी दिनुभएको छ ।

भारतका विभिन्न स्थानबाट स्वदेश फर्किने उद्देश्यले नेपाल-भारत सीमा क्षेत्रसम्म पुगेका हजारौँ नेपाली नागरिकहरू अझै अलपत्र अवस्थामा रहेका छन् ।

यसैबिच, कोरोना परीक्षणका लागि आवश्यक पूर्वाधार र कीट अभाव भएका कारण यो अवधिमा भित्रिएका नागरिकहरूको कोरोना परीक्षण नै नगरी सम्बन्धित जिल्लाका स्थानीय तहमा पठाइएको छ ।

सीमा नाका मै कोरोना परीक्षण गरी स्वदेश भित्र्याउने तयारीमा लागेको सुदूरपश्चिम प्रदेश सरकारले भने कीटको अभाव भएकोले सबै जनाको कोरोना परीक्षण गर्न नसकिएको जनाएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदीले कीट अभावका कारण परीक्षण गर्न नसकिएकोले अब सम्बन्धित स्थानीय तहमै आवश्यक प्रबन्ध मिलाइने बताउनु भएको छ ।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीका अनुसार र्यापिड कीटका लागि स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभागसँग समन्वय भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button