तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक : नीति तथा कार्यक्रमाथि छलफल जारी

फाइल तस्बिर

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम माथिको छलफल जारी रहेको छ ।

छलफलमा भाग लिदै सत्तापक्षीय दलका सांसदहरुले कोभिड–१९ को सङ्क्रमण र त्यसबाट सिर्जना हुन सक्ने आर्थिक सामाजिक चाुनौतिसँग जुध्ने गरी कार्यक्रम आउनु नीति तथा कार्यक्रमको राम्रा पक्ष भएको बताउनुभयो ।

सांसदहरुले विभिन्न देशबाट नेपाली स्वदेश फर्कन चाहिरहेको अवस्थामा उत्पन्न हुन सक्ने रोजगारीको समस्या हल गर्न कृषिमा ल्याइएका राम्रा कार्यक्रमहरुलाई पर्याप्त बजेट व्यवस्थापन गरेर अगाडी बढ्नु पर्ने बताउनुभयो ।

उहाँहरुले भारतले नेपाली भू–भाग मिचेर सडक निर्माण गरेको अवस्थामा राष्ट्रिय स्वाधिनता र स्वतन्त्रताको रक्षा गर्नका लागि नीति तथा कार्यक्रममा आएको विषय सबै भूभाग समेटेर नक्सा सार्वजनिक गर्न ढिला गर्न नहुनेमा जोड समेत दिनुभयो ।

नीति तथा कार्यक्रम प्रभावकारी कार्यान्वयन गरेर नेपाली जनताको अवश्यकता पुरा गर्न दृढतापूर्वमक लाग्नु पर्नेमा समेत सांसदहरुले जोड दिनुभयो ।

प्रमुख प्रतिपक्षी दललगायतका प्रतीपक्षी दलका सांसदहरुले कोभिड–१९ ले पारेका र पार्न सक्ने प्रभावको आंकलन गर्दै प्राथमिकता छुट्टयाएर नीति तथा कार्यक्रम आउन नसकेको भन्दै पुरातन र सरकारको गुणगान गाउने गरी मात्रै आएको बताउनुभयो ।

उहाँहरुले आम नागरिकको दुःखमा सरकार संवेदनशिल बन्न नसकेको भन्दै सङ्कटपछिको अवस्थाका रोजगारी सिर्जना गर्ने ठोस कार्यक्रम आउन नसकेको समेत बताउनुभयो ।

लिपलेक, लिम्पियाधुरा र कालापानी समेटेर नेपालको नक्सा सार्वजनिक गर्ने विषय नीति तथा कार्यक्रममा आउनु सकारात्मक रहेको भन्दै छिटो वार्ता गरेर समस्या समाधान गर्नु पर्नेमा सांसदहरुले जोड समेत दिनुभयो ।

सांसदहरुले नेपालमा उत्पादित कृषि उत्पादनले वजार पाउन नसकेको अवस्थामा आयात रोक्ने तथा कृषि क्षेत्रको विकास बजारीकरण गर्ने ठोस योजनासहितका कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनुभयो ।

आर्थिक बृद्धिमा गिरावट आएको र आउने समयमा झन घट्न सक्ने भन्दै कृषि, स्वास्थ्य, रोजगारी र पर्यटन क्षेत्रलाई बिशेष प्राथमिकतामा राखेर विशेष योजनासहितको बजेट ल्याउनु पर्नेमा सांसदहरुले जोड समेत दिनुभयो ।

नीति तथा कार्यक्रम माथिको छलफल जारी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button