तपाईँ सुन्दै हुनुहुन्छः

सम्पूर्ण रणनीतिको साथ मैदानमा उत्रिने मुख्यमन्त्रीको भनाई

फाइल तस्बिर

वीरगञ्ज । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक सम्पूर्ण रणनीतिका साथ संघीय र स्थानीय सरकारको समन्वयमा प्रदेश सरकार उत्रिने बताउनु भएको छ ।

पर्सा जिल्लामा कोरोना संक्रमितको संख्या बढदै गएपछि नियन्त्रणका लागि अवलम्वन गर्नुपर्ने उपायका सम्बन्धमा आज वीरगञ्जमा प्रदेश सरकारद्वारा आयोजित सर्वदलीय तथा सर्वपक्षीय वैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले दिन प्रति दिन बढदै गएको कोरोना संक्रमणलाई नियन्त्रण गर्नका लागि सिमा क्षेत्र सिल गरिए पनि भारतबाट हुने गरेको घुसपैठले समस्या निम्त्याएको भन्दै चिन्ता व्यक्त गर्नु भयो ।

उहाँले वीरगञ्जको नारायणी अस्पतालका साथै थप एक कोरोना अस्पताल निर्माणका लागि ढिलाई गर्न नहुने बताउदै यसका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने जानकारी दिनुभयो ।

छलफल कार्यक्रममा वीरगञ्ज महानगरपािलकाका मेयर विजय सरावगीले वीरगञ्जमा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गईरहेको र संघीय तथा प्रदेश सरकारले थप आवश्यक सहयोग तर्फ ध्यान नदिएको गुनासो गर्नु भयो ।

उहाँले कृषि क्षेत्र धारासायी बन्दै गएको प्रति चिन्ता व्यक्त गर्दै संघीय सरकारको ध्यान वीरगञ्ज तर्फ भन्दा काठमाण्डौ तर्फ मात्रै केन्द्रित भएको आरोप लगाउनु भयो ।

मेयर सरावगीले कोरोना नियन्त्रणमा वीरगञ्ज महानगरपालिका अभिभावक विहिन भएको र हाल सम्म प्रदेश सरकारबाट २५ लाख बाहेक अन्यत्र बाट सहयोग नपाएको बताउनु भयो । उहाँले सञ्चारमाध्यमले पनि आफूलाई दुःख दिएको गुनासो गर्दै हाल सम्म महानगरपालिकाले ३४ हजार परिवारलाई राहत बाडेको दावी गर्नु भयो ।

कार्यक्रममा कोरोना संक्रमण फैलिएपछि लकडाउन देखि निषेधाज्ञा सम्मको सुरक्षा अवस्था र सिमा क्षेत्रमा अपनाईएको सुरक्षा रणनीतिका बारेमा पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीले मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराउनु भएको थियो ।

त्यसैगरी कोरोना संक्रमण र हाल नारायणी अस्पतालले गरिरहेको उपचारका बारेमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी गराउनु भएको थियो ।

हाल पर्सा जिल्लामा २ जना सञ्चारकर्मी, १ स्वास्थ्यकर्मी सहित ९१ जना संक्रमित रहेका छन् ।

वीरगञ्जको नारायणी अस्पतालको आईसोलेशनमा ७० जना र सिद्धार्थ माविको सेमी आईसोलेशनमा १७ जना अहिले उपचारत रहेका छन् ।

आईसोलेशनमा रहेका संक्रमितहरुले खानपिन राम्रो नपाएको, पिउने पानी र शौचालय समेतको व्यवस्था नभएको सम्बन्धमा गुनासो गरिरहेको बेला सम्पन्न बैठकले उनीहरुको माग समेत सम्बोधन गर्ने अपेक्षा आफूहरुले लिएको नारायणी अस्पतालको आईसोलेशनमा रहेका संक्रमित सञ्चारकर्मीले जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button