राष्ट्रियसभा बैठक : दुई विधेयक दफावार छलफलका लागि समितिमा

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले दुईवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।
बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले प्रस्ताव गर्नु भएको नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाइ सेवा प्राधिकरण विधेयक,२०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो ।
बैठकले युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधन उपर विचार गरियोस् भनी गर्नु भएको प्रस्ताव सर्वसम्मतीले स्विकृत गरेको हो ।
यस्तै बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “बीउ बिजन (दोस्रो संशोधन) विधेयक, २०७५” र “बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५” लाईटेबुल गर्नुभयो ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जेठ दुई गते अपरान्ह चार बजे बस्ने दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको जानकारी गराउदै सबै सदस्यहरुलाई समयमा नै उपस्थितीको लागि आग्रह गर्नु भएको छ ।
राष्ट्रिय सभाको अर्को बैठक जेठ २ गते शुक्रबार अपरान्ह ६ वजे बस्ने छ ।








प्रतिक्रिया राख्नुहोस्