भारतमा कोरोना भाइरस संक्रमितको संख्या ७० हजार नाघ्यो
नयाँ दिल्ली।भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या मंगलबार बिहानसम्म ७० हजार नाघेको छ । संक्रमणबाट गएको २४ घन्टायता ८७ जनाको मृत्यु भएको छ ।
कोभिड १९ बाट संक्रमित हुने व्यक्तिको संख्या ७० हजार ७५६ जना पुगेको छ । गत २४ घण्टामा मात्र ३ हजार ६०५ जना कोरोना भाइरस संक्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा मृत्यु हुनेहरूको सख्या २ हजार २९३ जना पुगेको छ । संक्रमणबाट निको भएका विरामीको संख्या २२ हजार ४५४ जना रहेको मन्त्रालयले जानकारी दिएको छ । भारतमा मंगलबार बिहानसम्मको तथ्याङ्कअनुसार हाल यो रोगका ४६ हजारभन्दा बढी संक्रमितहरू अस्पतालमा उपचार गराइरहेका छन् ।
कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन् । महाराष्ट्रमा २३ हजार ४०० नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । यस संक्रमणबाट महराष्ट्रमा ८६८ को मृत्यु भएको छ । महाराष्ट्रपछि गुजरात दोस्रो स्थानमा रहेको छ । गुजरातमा ८ हजार ५४१ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् । संक्रमणबाट भने ५१३ जनाको मृत्यु भएको छ ।
तामिलनाडूमा यसबाट ८ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमणबाट २ हजार भन्दा बढी निको भएका छन् भने यहाँका ५३ जनाको ज्यान गएको छ । दिल्लीमा कोरोना भाइरसको संक्रमणबाट ७ हजार ७३३ जना विरामी छन् ।
भारतले शुक्रबार मे ४ देखि लागू हुने गरी थप दुइ साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको थियो । भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो ।








प्रतिक्रिया राख्नुहोस्