मुख्यमन्त्री राईद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण
भोजपुर । हतुवागढी गाउँपालिकामा कोभिड–१९ का बिरामी फेला परेपछि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई स्वास्थ्य सामग्रीसहित गृह जिल्ला आउनुभएको छ । मुख्यमन्त्री राई कोरोना रोकथाम र उपचारमा प्रयोग हुने सामग्री लिएर अन्य दुई मन्त्रीसहित गाउँपालिका केन्द्र घोडेटार आउनुभएको हो ।
मुख्यमन्त्री राईले थर्मलगन चार थान, स्वाब सङ्कलनका लागि प्रयोग हुने भिपीएम १०० थान, पिपिई सेट १० थान, एन–९५ मास्क ५० थान, आरडिटी किट १०० थान र पञ्जा एक हजार थानलगायतका सामान गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईलाई हस्तान्तरण गर्नुभएको छ ।
मुख्यमन्त्रीको साथमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की र सामाजिक विकासमन्त्री जीवन घिमिरे पनि आउनुभएको थियो ।
३० फागुनमा साउदी अरबबाट काठमाडौं हुँदै घर फर्किएका हतुवागढी गाउँपालिका–६ होम्ताङ्गका २६ वर्षीय युवामा दुई दिनअघि कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । उनलाई आज बिहान एम्बुलेन्सबाट उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको छ ।
साथै उनको नजिकको सङ्गतमा रहेका अन्य १४ जनाको पनि स्वाब सङ्कलन गरेर पिसिआरका लागि धरान पठाइएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्