तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा पाँच सदस्यीय मानवअधिकार अनुगमन समिति

अछाम । अछाम जिल्लामा नेपाल सरकारद्वारा जारी गरिएको बन्दाबन्दी अर्थात लकडाउनमका क्रममा मानवअधिकारको अवस्था अनुगमन गर्न अछाम पाँच सदस्यीय मानवअधिकार अनुगमन समिति गठन गरिएको छ ।

राष्ट्रिय मानवअधिकार आयोग अन्तर्गत रहेको उक्त समितिमा बार एसोसिएसनका जिल्ला अध्यक्ष कृष्णप्रसाद ढुंगाना संयोजक रहने गरी पाँच सदस्यीय जिल्लास्तरीय मानवअधिकार अनुगमन समिति गठन गरिएको हो ।

समिति सदस्यमा ईन्सेक नेपालका जिल्ला प्रतिनिधि शिवराज ढुंगाना, पत्रकार महासंघका कार्यवाहक अध्यक्ष खम्म खत्री, गैरसरकारी संस्था महासंघका पूर्व कोषाध्यक्ष बिन्दु रावल र अधिकारकर्मी दुधकला बिष्ट रहेका छन् ।

चयन भएका सदस्यले नेपालका प्रचलित कानून, आयोगका नीति, नियम तथा आचारसंहिता पालना गरेर अनुगमनमा खटिन भनिएको छ ।

अनुगमन समितिले कोरोना भाइरसका सन्दर्भमा अछाममा भइरहेका काम, स्वास्थ्य, खाद्य, न्याय, प्रेस र अभिव्यक्ति स्वतन्त्रता, आमसञ्चार माध्यम नागरिक समाज, अधिकारकर्मीको भूमिका, नागरिक सचेतना र कर्तव्यका बारेमा अनुगमन गर्ने संयोजक ढुंगानाले बताउनुभयो ।

आयोगको कार्यविधि अनुसार अनुगमन समितिले प्रत्येक हप्ता भिडियो कन्फ्रेन्स बैठक गरेर प्रतिवेदन राष्ट्रिय मानवअधिकार आयोगमा पठाउने इन्सेक अछामका प्रतिनिधि शिवराज ढुंगानाले जानकारी दिनुभयो ।

केन्द्रमा राष्ट्रिय मानवअधिकार आयोगले तोकेको आयोगका आयुक्त संयोजक रहेको नौ सदस्यीय उच्चस्तरीय मानवअधिकार अवस्था अनुगमन तथा समन्वय समिति रहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button