तपाईँ सुन्दै हुनुहुन्छः

दाल कालोबजारी गरेको आरोपमा धनलक्ष्मी दाल मिलका सञ्चालक पक्राउ

बीरगंज । बारा प्रहरीले दाल कालोबजारी गरेको आरोपमा बीरगन्जस्थित धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण शर्मालाई पक्राउ गरेको छ ।

शर्मालाई हिजो साँझ पक्राउ गरि जिल्ला प्रहरी कार्यालय कलैयाको हिरासतमा राखिएको बारा प्रहरीले जनाएको छ ।

कलैयास्थित यादव कोल्ड स्टोरमा राखिएको खान अयोग्य दाल राहतमा वितरण गरेको उजुरीपछि प्रहरीले कोल्ड स्टोरमा छापामारी ठूलो परिणाममा रहेको दाल नियन्त्रणमा लिई अनुसन्धान अगाडी बढाएको थियो ।

प्रहरीले गुणस्तरहिन दाल विक्री वितरण गरेको आरोपमा दाल मिलका सञ्चालक शर्मालाई पक्राउ गरी कालोबजारी ऐन अन्तरगत मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाएको छ ।

सो अभियोगमा अहिलेसम्म प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । कालाबजारीमा संलग्न केही व्यक्तिलाई पक्राउ गरिएको र मुद्दाको अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

दाल कालोबजारी गरेको आरोपमा कलैया उपमहानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी लगायतलाई समेत प्रहरीले कानुनी दायरामा ल्याउने तयारी गरेको प्रहरी स्रोतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले यसबारेमा पत्रकार सम्मेलन गरी थप जानकारी गराइने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button