पाँचथरमा शीघ्र परीक्षण शुरु
पाँचथर । कोभिड–१९ को सङ्क्रमण पत्ता लगाउन पाँचथरमा शीघ्र डाइग्नोष्टिक परीक्षण ‘र्यापिड डाइग्नोष्टिक टेष्ट) शुरु भएको छ ।
प्रदेश सरकारले पाँचथरका लागि २०० थान किट पठाएपछि आजदेखि शीघ्र परीक्षण शुरु गरिएको हो ।
किट आज अबेर आइपुगेकाले आठ जनाको शीघ्र परीक्षण सम्पन्न भएको छ । फाल्गुनन्द गाउँपालिकाको राँके बजारमा रहेको क्वारेन्टाइनमा बसेका सात तथा कोरोना भाइरसको लक्षणसँग मिल्ने स्वास्थ्य समस्या भएका एक जनाको शीघ्र परीक्षण सम्पन्न भएको हो । उनीहरु सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख नारदमुनि सुवेदीले जानकारी दिनुभयो ।
पाँचथरमा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट दुई तथा जिल्ला अस्पतालबाट एक स्वास्थ्यकर्मी शीघ्र परीक्षण कार्यमा सहभागी छन् । आइतबारदेखि भने दुई टोली निर्माण गरी क्वारेन्टाइनमा रहेका, उनीहरुको परिवारका सदस्य तथा आशङ्का गरिएका व्यक्तिको शीघ्र परीक्षण गरिने सुवेदीले जानकारी बताउनुभयो ।
प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार प्रदेशका सबै जिल्लामा शीघ्र परीक्षणको प्रबन्ध मिलाइएको छ । यसका लागि शनिबार तथा आइतवारदेखि सबै जिल्लामा परीक्षणको काम शुरु हुनेछ ।
पाँचथरमा भने सोमबारसम्ममा क्वारेन्टाइनमा बसेका, उनीहरुको परिवारका सदस्य तथा आशङ्का गरिएका व्यक्तिको शीघ्र परीक्षण सम्पन्न गर्ने लक्ष्य राखिएको आङ्बोले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्