तपाईँ सुन्दै हुनुहुन्छः

भलवारी डिपोमा इन्धनको पर्याप्त मौजदात

भैरहवा । कोरोना भाइरसका कारण नेपाल–भारत सीमा नाका बन्द हुने हल्लाले सर्वसाधारणले आवश्यकता भन्दा बढी इन्धन भण्डार गर्ने गरेको पाइएको छ । नाकाबन्दीका बेलामा जस्तै सर्वसाधरणले इन्धन भण्डारण गर्न थालेपछि नेपाल आयल निगम भलवारी डिपोले इन्धनको अनावश्यक स्टक नगर्न आग्रह गरेको छ ।

अहिले सम्म भारतबाट निर्वाध रुपमा पेट्रोलियम पदार्थ नेपाल भित्रिरहेको र बजारमा पेट्रोलियम पदार्थको कुनै खालको अभाव नरहेको भन्दै निगमले हल्लाका पछाडि लागेर भण्डारण नगर्न आग्रह गरेको हो ।

निरन्तर रुपमा पहिलेकै अवस्थामा इन्धन आयात भइरहेको निगमका भलवारी डिपोका प्रमुख ई. सुरज शाहले जानकारी दिनुभयो । नाकाबन्दीका बेला सबै नाका बन्द हँुदा खुल्ला रहेको भैरहवा नाका (बेलहिया) बाट मात्रै आयात भएको इन्धन मुलुकभरीका लागि आपूर्ति व्यवस्था मिलाइएको थियो ।

अहिले पनि यो नाकाबाट आयात हुने पेट्रोलियम पदार्थमा कुनै कमी नआएको शाहले जानकारी दिनुभयो । “विगतमा जुन परिमाणमा इन्धन आइरहेको थियो, त्यही परिमाणमा अहिले पनि आइरहेको छ”–उहाँले भन्नुभयो–“ट्यांकरमा इन्धन लोड भइरहेको छ, हाल सम्म भारतबाट इन्धन ढुवानीका लागि केही समस्या आएको छैन ।”

डिपो प्रमुख शाहका अनुसार भारतबाट शुक्रबार दुई लाख ४० लिटर डिजेल र सात लाख ५२ हजार लिटर पेट्रोल र ३२ वटा एलपीजी ग्याँस बुलेट आएको छ । भलवारी डिपो प्रमुख शाहका अनुसार भारतको बैतालपुर, मुगलसराय, केही मात्रामा गोयन्ड र अमलेखगंजको पाइपलाइनबाट समेत डिजेल, पेट्रोल आयात भइरहेको छ । भारतबाट औसतमा डिजेल दैनिक ४० ट्यांकर र पेट्रोल १५ ट्यांकर आयात भइरहेको छ ।
काठमाडांैमा पनि पेट्रोलियम पदार्थको अभाव हुन नदिनका लागि दैनिक जसो ८० हजार लिटर पेट्रोल काठमाडौ पठाउने गरेको शाहले बताउनुभयो । निगमको भलवारी डिपोमा एक लाख १३ हजार लिटर पेट्रोल र २६ लाख लिटर डिजेल मौजदात रहेको प्रमुख शाहले बताउनुभयो ।
डिपो बाहिर पनि १४ सय ८० केएल डिजेल र चार सय ८० केएल पेट्रोल मौजदात रहेको निगमले जनाएको छ । डिपोको क्षमता डिजेलमा ३० लाख लिटर र पेट्रोलमा एक लाख ४० हजार लिटर रहेको छ । “भारतबाट ट्यांकरमा आइरहेको इन्धन ट्यांकरबाटै बिक्री गरिरहेका छौँ”–उहाँले भन्नुभयो । मौजदात गरिएको इन्धनबाट बिक्री गर्नु नपरेको पनि शाहले बताउनुभयो । “अहिले पनि निर्वाध रुपमा पेट्रोलियम पदार्थको लोड भइरहेको छ”–उहाँले भन्नुभयो ।

कोरोनाको त्रासले सर्वसाधरणको माग बढ्दा व्यवसायीहरुले बढी मात्रामा माग गरेको उहाँले बताउनुभयो । उहाँले इन्धनको विषयमा अफवाहको पछाडि नलाग्न र आवश्यकता भन्दा बढी इन्धन भण्डारण नगर्न सर्वसाधरण सबैलाई आग्रह गर्नुभयो । “पेट्रोल, डिजेल दजस्तो अत्यावश्यक वस्तु सर्वसाधारणले आवश्यकता भन्दा बढी भण्डारण गर्दा अनावश्यक रुपमा अभाव देखिन सक्छ”–उहाँले भन्नुभयो ।

भारतबाट एलपिजी ग्याँसका बुलेट पनि निरन्तर रुपमा आइरहेकाले ग्यासको पनि अभाव नहुने भलवारी डिपोले जनाएको छ । भैरहवा नाकाबाट आयात हुने डिजेल, पेट्रोल भलवारी डिपोले रुपन्देही, पश्चिम नवलपरासी, कपिलवस्तु, बाग्लुङ, स्याङजाका (केही भाग), पाल्पा, गुल्मी, अर्घाखाँची जिल्लामा पठाउने गर्छ । यी बाहेक अति आवश्यक परेको खण्डमा काठमाडौँ, पोखरा लगायत अन्य जिल्लामा पनि पठाउने गरिएको छ ।

गोरखापत्र बाट 

प्रतिक्रिया राख्नुहोस्

Back to top button