उपत्यकाका ५० शैया र सोभन्दा माथिका अस्पतालमा बहिरङ्ग र शल्यक्रियासम्बन्धी सेवा बन्द गर्न निर्देशन

काठमाडौं। सरकारले काठमाडौँ उपत्यकाका ५० शैया र सोभन्दा माथिका अस्पताललाई तत्काल आवश्यक नपर्ने स्वास्थ्य परीक्षण एवम् शल्यक्रियासम्बन्धी सेवा बन्द गर्न निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको अध्यक्षतामा आज बसेको मन्त्रिस्तरीय बैठकले कोभिड–१९को उच्च सतर्कता अपनाउन उपत्यकाका ५० शैया र सोभन्दा माथिका अस्पतालमा बहिरङ्ग र शल्यक्रिया सेवा चैत मसान्तसम्मका लागि बन्द गर्न निर्देशन दिइएको हो ।
बैठकले कोभिड–१९ को समुदायमा फैलावटको अवस्था पत्ता लगाउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई कम्तीमा २० हजार नमूना परीक्षणका लागि तयारी अवस्थामा राख्ने र आवश्यकताअनुसार परीक्षण गर्ने व्यवस्था मिलाउने समेत निर्णय गरेको छ ।
बैठकले कोभिड–१९ को पहिचान, परीक्षण, उपचार र रोकथामका लागि आवश्यक पर्ने अत्यावश्यक सामग्रीको सूची तयार पारी सो सामग्री उपलब्ध गराउन नेपालस्थित चिनियाँ राजदूतावासलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।
मन्त्रालयले कोभिड–१९ को नमूना परीक्षण गर्न योग्य ठहरिएका वीर अस्पताल, धुलिखेल अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानलाई तत्काल परीक्षण शुरु गर्नसमेत निर्देशन दिने निर्णय छ ।
मन्त्रालयले कुनै अस्तपालमा कोभिड–१९ को शङ्कास्पद बिरामी आएमा निजलाई तत्काल अन्य अस्पताल प्रेषण नगरी आफ्नै अस्पतालमा आइसोलेसनमा राखी उपचार गर्ने र परीक्षणका लागि नमूना सङ्कलन गर्ने तथा नमूना ‘पोजिटिभ’ आएमा अन्यलाई नसर्ने व्यवस्था मिलाइ तोकिएको अस्पतालमा प्रेषण गर्ने व्यवस्था मिलाउने अस्पतालहरुलाई निर्देशन दिएको छ ।
मन्त्रालयले यसअघि १०० भन्दा बढी शैया भएका अस्पताललाई ज्वरो क्लिनिक (फिवर क्लिनिक) सञ्चालन गर्न दिएको निर्देशनको समेत अनुगमन गर्ने भएको छ ।
विदामा समेत काम गर्न निर्देशन
स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको संक्रमण रोकथामका कदमहरुलाई प्रभावकारी बनाउन मातहतका विभाग र कार्यालयका प्रमुख तथा कर्मचारीहरुलाई सार्वजनिक विदाका दिनमा समेत काम गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले आज एक सूचना जारी गरी सार्वजनिक विदामा काम गर्न र उपसचिव तथा अधिकृतस्तरका कर्मचारीहरुलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन समेत दिएको छ
मन्त्रालयका उपसचिव प्रमोद सिंखडाद्वारा जारी सूचनामा मन्त्रालय मातहतका विभाग र काठमाडौं उपत्यकाका सार्वजनिक अस्पतालहरुलाई कोरोना संक्रमण रोकथाममा परिचालन गर्न विदाका दिनमा समेत काम गर्ने निर्णय भएको जनाइएको छ ।







प्रतिक्रिया राख्नुहोस्