तपाईँ सुन्दै हुनुहुन्छः

सरकारको निर्णय अटेरी गरी पर्साका निजी बिद्यालयद्वारा परीक्षा सञ्चालन

फाइल तस्बिर

बीरगंज । बीरगंज तथा पर्साको ग्रामिण क्षेत्रका केही निजी बिद्यालयका सञ्चालकहरुले नेपाल सरकार तथा स्थानीय प्रशासनको निर्णयलाई अटेरी गरी परिक्षा सञ्चालन गरिरहेका छन् ।

बिश्वभरी नै कोरोना भाईरसको प्रकोपलाई नियन्त्रण गर्न र सजग रहन नेपाल सरकारले एसइई परिक्षा समेत अनिश्चितकालको लागि स्थगित गरेको अवस्थामा केही निजी बिद्यालयहरुले सरकारी निर्णयको अवज्ञा गरी बालबालिकाको स्वास्थ्यलाई गम्भिर असर पर्ने गरी भिडभाडमा परिक्षा लिईरहेका छन् ।

बीरगंज महानगरपालिकालगायत पोखरीया नगरपालिका, कालिकामाई गाउपालिका, छिपहमाई गाउपालिका, बिन्दवासिनी गाउपालि पकहामैनपुर गाउपालिकाका केही निजी बिद्यालयहरुले कक्षा ९ को परीक्षा आज सञ्चालन गरेको बताइएको छ ।

बिना सावधानी सानो कोठामा ५० देखि ७० जनाभन्दा बढी बालबालिकाहरुलाई राखेर परिक्षा लिएको र बालबालिकाको स्वस्थ्यका बारे सम्बन्धित निकायले ध्यान नदिएकोमा अभिभावककाहरुले चिन्ता व्यक्त गरेका छन् ।

सरकारको निर्णय किन कार्यान्वयन नगरेको भन्ने सम्बन्धमा निजी विद्यालयका एक सञ्चालकले बिद्यालय बन्द गरी परीक्षा स्थगित गरेपछि अभिभावकहरुले शैक्षिक सत्रको अन्त्यमा शुल्क नतिर्ने भएकाले यस्तो गरिएको बताएका छन् ।

विश्वकै स्वास्थ्य माथि कोरोना भाईरसका कारण चुनौती बढदै गएको बेला केही निजी बिद्यालयको सञ्चालकको कारण बालबालिकाको स्वास्थ्यमा गम्भिर असर परे यसको जिम्मा कस्ले लिने यो विषय गम्भिर रुपमा उठेको छ ।

यस सम्बन्धमा पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु कार्कीले एसइई परीक्षा समेत स्थगित भएको बेला केही निजी विद्यालयले आफ्नो मनपरी परिक्षा लिईरहेको जानकारीमा आएको हुँदा त्यस्ता विद्यालयका सञ्चालकलाई कारवाही गरिने बताउनुभयो ।

आज परीक्षा सञ्चालन भएको भन्ने जानकारी आएका विद्यालयहरुमा यर्थात बुझ्न प्रहरी परिचालन गरिएको र तत्काल आजैबाट विद्यालय बन्द गर्न निजी विद्यालयका सञ्चालकहरुलाई प्रमुख जिल्ला अधिकारी कार्कीले चेतावनी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button