पर्यटन मन्त्रालय अन्तर्गतका सबै साँस्कृतिक केन्द्रहरु, संग्रहालय तथा अभिलेखालयहरु चैत्र मसान्तसम्म बन्द गर्ने निर्णय

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालय र मातहत निकायका विभागीय प्रमुख एवं प्रतिनिधिहरु समेतको उपस्थितिमा आज बसेको बैठकले मन्त्रालय अन्तर्गतका सबै साँस्कृतिक केन्द्रहरु, संग्रहालय तथा अभिलेखालय २०७६ साल चैत्र मसान्तसम्म बन्द गर्ने र साँस्कृतिक संस्थान, प्रज्ञा प्रतिष्ठानहरुका सभाहल, प्रेक्षालयहरुमा २०७६ साल चैत्र मसान्तसम्म कुनै कार्यक्रम आयोजना नगर्ने निर्णय गरेको छ ।
यसैगरी बिभिन्न मठ मन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक स्थलहरुमा एकपटकमा २५ जना भन्दा बढी तीर्थालु र दर्शनार्थी भेला नहुने व्यवस्था मिलाउने, त्यस्ता स्थलहरुमा लामबद्ध हुने दर्शनार्थी र तीर्थालुहरुबीचको दूरी कम्तीमा एक मीटर कायम गर्ने व्यवस्था मिलाउने, साबुन पानीले हात खुट्टा धुने प्रवन्ध मिलाउने र सबै तीर्थालुहरुलाई अनिवार्य माक्स लगाउन सूचित गर्ने निर्णय गरेको छ ।
पर्यटक सवारी साधनमा सीट क्षमताभन्दा बढी यात्रु ओसारपसार नगर्ने, नगराउने, त्यस्ता सवारी साधन चलाउनु अघि सवारी साधनलाई डिइन्फेक्सन गर्ने व्यवस्था मिलाउने, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आउने यात्रुहरुलाई स्वास्थ्य अवस्थाको रिपोर्ट अनिवार्य भर्न लगाई स्वास्थ्य जाँच स्क्रिनिङ गर्ने गराउने साथै आन्तरिक विमानस्थलका प्रस्थान क्षेत्रमा पनि सबै यात्रुहरुको स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

नेपाल सरकारद्वारा निश्चित अवधी तोकी ट्राभल एडभाइजरी जारी गरेको कारणबाट कुनै यात्रुले उक्त अवधिभित्रको यात्रा स्थगन गरेको वा वायुसेवा कम्पनी आफैले उडान रद्द गरेको अवस्थामा हवाई टिकट रद्द गर्दा वा यात्रा मिति परिवर्तन गर्दा कुनै शुल्क नलिने र हवाई टिकट रद्द गर्दा पूरै रकम फिर्ता गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै वायुसेवा कम्पनीहरुलाई निर्देशन दिने र सो को नियमित अनुगमन गर्ने निर्णय पर्यटन मन्त्रालयले गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्