तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल–भारत सीमा स्तम्भ विवाद :नयाँ सीमा स्तम्भ तोडफोड

Image may contain: one or more people, people standing, outdoor and nature

कञ्चनपुर। नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले दुई देशबीचको सीमा क्षेत्रमा रहेका सीमा स्तम्भहरुको जाँचबुझ गर्ने र सच्च्याउने काम गरिरहेको छ । सीमा क्षेत्रमा विगतदेखि यथावत रहेका सीमा विवादहरुको अझै समाधान हुन सकेको छैन । यद्यपी थप नयाँ स्थानमा समेत सीमाको विवाद बढ्दै गएको छ । यसैक्रममा कञ्चनपुरको दक्षिणी क्षेत्रमा भारत संग सीमा जोडिएका स्थानमा पनि सीमा स्तम्भहरुको जाँचबुझ गर्ने र सच्च्याउने काम भइरहँदा केही विवाद देखिएपछि सीमा सर्भे टोलीले उक्त क्षेत्रको काम स्थगित गरेको छ । यसअघि विगतमा कुनैपनि विवाद नदेखिएका क्षेत्रहरुमा सर्भे टोलीले काम गर्ने क्रममा विवाद देखिन थालेको हो । नेपाल सरकारले उपलब्ध गराएको दर्ता जग्गा समेत भारतमा पर्ने गरी सीमा सर्भे टोलीले सीमा स्तम्भ राख्न थालेपछि सीमा क्षेत्रका नागरिक चिन्तित र आक्रोशित बनेका छन् ।

अहिले विवादित बनेका क्षेत्रमा शनिबार नेपाली कांग्रेसले पनि स्थलगत अनुगमन गरेको छ । कांग्रेसका नेता एवं पूर्वसांसद तथा संविधान सभा सदस्यद्वय दिवान सिंह बिष्ट र बहादुर सिंह थापा, नेपाली कांग्रेस कञ्चनपुरका सभापति हरि प्रसाद बोहरा सहितका नेताकार्यकर्ता सम्मिलित अनुगमनका क्रममा कांग्रेसका स्थानीय कार्यकर्ता र केही सर्वसाधारण नागरिकले हालै निर्माण गरिएका सीमा स्तम्भ तोडफोड गरेका छन् । कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर ३ वैवाहामा नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले हालै निर्माण गरेको ७८३÷४ नम्बरको सीमा स्तम्भ उनीहरुले हतौडा र ढुङ्गा प्रहार गरी तोडफोड गरेको बताइएको छ । सीमा स्तम्भ तोडफोड गरिएपछि उक्त क्षेत्रको सुरक्षा सतर्कता बढाइएको छ । त्यस्तै, बेलौरी नगरपालिका वडा नम्बर १० भुडामा सीमा स्तम्भ राख्न नेपाली भूमिमा नहर किनारमै खनिएका खाल्डा समेत उनीहरुले पुरिदिएका छन् ।

सीमा स्तम्भ तोडफोड गरिएपछि प्रतिकृया दिँदै नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद तथा संविधान सभा सदस्य दिवान सिंह बिष्टले वर्तमान कम्युनिष्ट सरकारले सीमा विवाद प्रति चाँसो नदिएकोले सीमा स्तम्भ भत्काइएको बताउनु भयो । उहाँले सीमा स्तम्भ भत्काउने कार्य नेपाली कांग्रेसले नभई सोही स्थानका नागरिकले स्वस्फुर्त रुपमा गरेको उल्लेख गर्दै उक्त कार्यप्रति समर्थन जनाउनु भयो । उहाँले सीमाको रक्षा गर्ने जिम्मेवारी सरकारको भएपनि सत्तारुढ दलका नेताकार्यकर्ताले सीमा सर्भे टोलीलाई काम गर्न अवरोध गर्ने र त्रसित पार्ने काम गरेको आरोप पनि लगाउनु भयो । नेता बिष्टले सीमा विवादका विषयमा कांग्रेसले संघर्षका कार्यक्रम गर्ने चेतावनी पनि दिनुभएको छ ।

त्यस्तै, नेपाली कांग्रेस कञ्चनपुरका सभापति हरि प्रसाद बोहराले पचासौँ वर्षदेखि नेपाली नागरिकले भोगचलन गर्दै आएको जमिन भारतमा पार्न खोजिएकोले यो सरकारको गैरजिम्मेवारीपूर्ण काम भएको आरोप लगाउनु भयो । नेपाली जनतासंग उक्त जमिनको लालपूर्जा समेत रहेको उल्लेख गर्नुहुँदै सीमा क्षेत्रका नागरिकको आक्रोश स्वभाविक रहेको बताउनु भएको छ । उहाँले सीमा रक्षाका लागि कांगे्रस जहिलेपनि लागिरहने बताउनु भयो । नेपाली कांग्रेसको उक्त टोलीले बेलडाँडीको झिलमिला र वैवाहा तथा बेलौरीको भुडा र पचुँईमा सीमा स्तम्भको स्थलगत अनुगमन गरेको हो । यसअघि शनिबार नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु उर्वादत्त पन्त, ईश्वरी प्रसाद खरेल सहितको टोलीले पनि सीमा क्षेत्रको स्थलगत अनुगमन गरेको थियो ।

नेपाली कांग्रेसका स्थानीय कार्यकर्ता र केही सर्वसाधारण नागरिकले हालै निर्माण गरिएका सीमा स्तम्भ तोडफोड गरेपछि थारु कल्याणकारिणी सभा कञ्चनपुरका अध्यक्ष समेत रहनु भएका बेलौरी निवासी मेवाराम चौधरीले फरक धारणा राख्नुभएको छ । उहाँले भन्नुभएको छ, “जोशिलो उमेर समुहका राष्ट्रप्रेमी साथीहरूलाई ढुंगाले पिलर फुटाउन ठिकै लागि रहेको हुन सक्छ । तर यो समाधानको सही उपाय चाँहि होइन । यसले अप्रीय र अकल्पनीय किसिमको वातावरण पैदा गर्न सक्छ । बरू हामीले अबिलम्ब कुटनैतिक पहलका लागि सरकारलाई दबाब दिनमै जोड दिनुपर्छ र यसमा साथीहरूले अन्यथा नलिन अनुरोध छ ।”

चरणबद्ध रुपमा विभिन्न पक्षको ध्यान यतिबेला नयाँ विवादित सीमा क्षेत्रमा केन्द्रित

चरणबद्ध रुपमा विभिन्न पक्षको ध्यान यतिबेला नयाँ विवादित सीमा क्षेत्रमा केन्द्रित भइरहेको पाइन्छ । नेपाल–भारत सीमा सर्भेको काम प्रति नेपाली नागरिकको असन्तुष्टि बढेपछि करीब दुई हप्ता पहिलेदेखि विभिन्न पक्षबाट स्थलगत अनुगमन गरिने क्रम जारी छ । दुई हप्ता अघि नै बेलौरी नगरपालिकामा सरोकारवाला पक्षबीच बृहत् छलफल समेत गरिएको थियो । सोही क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कञ्चनपुर क्षेत्र नम्बर १ का क्षेत्रीय संयोजक पल्लव राज भट्टले सीमा सर्भे टोलीले सीमाको नाप नक्सांकन गर्न कुन नक्साको प्रयोग गरिरहेको छ भन्ने विषयमा नागरिकलाई स्पष्ट पार्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल सरकारका आधिकारिक नक्सा र गुगलको नक्सामा समेत नमिल्ने गरी र खोलानालालाई आधार मान्नुपर्ने कुनैबेलाको नीतिसंग समेत अहिलेको नापी टोलीले भन्ने गरेको सीमा स्थान मेल नखाएकोले यसको तथ्य र आधार प्रस्तुत गर्न माग गर्नुभयो ।

त्यस्तै, नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति गोपी प्रसाद उपाध्यायले आफुहरु बाल्यकाल देखि नै सीमा क्षेत्रको बारेमा धेरथोर जानकार रहेकोले भारतीय पक्षबाट नेपालको भूमि कब्जा गर्ने कार्य निरन्तर भइरहेकोले यस्ता गतिविधि रोक्नुपर्ने धारणा राख्नुभयो । नेपाल–भारतको संयुक्त सीमा सर्भे टोलीमा नेपालका तर्फबाट सुदर्शन धामीको नेतृत्वमा सीमा सर्भे टोलीले कैलाली, कञ्चनपुर सहित पश्चिममा भारतसंग जोडिएका क्षेत्रमा सर्बेक्षण गरिरहेको छ । तर उक्त टोलीले नेपाल–भारत सीमामा दशगजा क्षेत्रको न्यायोचित सिमाङ्कन र रेखाङ्कन गरी जनताको चित्त बुझाउने तथ्य र आधार प्रष्ट पार्न नसक्दा स्थानीय सशंकित भएका छन् । यद्यपी उक्त सर्भे टोली भने आफुहरुले गरिरहेको कार्य शत प्रतिशत सही भएको दाबी गर्दै आएको छ । टोली प्रमुख धामीले आफुहरुले देशको अहितमा हुने कुनै पनि गतिविधि नगरेको जिकिर गर्दै यदि त्यसको कुनैपनि प्रमाण देखिए आफुहरुलाई जस्तोसुकै कारबाही गरेपनि व्यहोर्न तयार रहेको उल्लेख गर्नुभयो ।

यस्तै सोही छलफलका क्रममा पुर्वसांसद तथा संविधान सभा सदस्य दिवान सिंह बिष्टले नापीका कर्मचारीहरुले सरकारको निर्देशन अनुसार काम गर्ने हुँदा सर्भे टोलीका कर्मचारीले सीमा स्तम्भको आधार र तथ्य दिन नसके त्यसको जिम्मेवारी सरकारमा रहेका व्यक्तिको र पार्टीको भएकोले अहिले सत्तामा रहेका पार्टीका जनप्रतिनिधिहरुले अग्रसरता देखाउनु पर्ने सुझाव दिनुभयो । यस विषयमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले समस्याको समाधानका लागि सम्बन्धित क्षेत्रमै पुगेर समस्या पहिचान गर्ने गरी आफु केन्द्रित रहेको बताउनु भएको छ । उहाँले वास्तविक समस्यालाई टिपोट गरेर दुई देशका अधिकारीहरु बीचको बैठकमा पेश गर्ने र छिट्टै समाधान खोज्ने आश्वासन समेत दिनुभयो ।

सोही छलफलका क्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य कुलबीर चौधरीले आफुले यस विषयमा प्रदेश सभामा कुरा उठाउने र प्रदेश सरकारलाई समेत जानकारी गराउने बताउनु भयो । त्यस्तै, बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले राष्ट्रियताका सवालमा सबै एक हुनु पर्ने बताउनु भएको छ । नगर प्रमुख चौधरीले भारतसंग खुला सीमा जोडिएका क्षेत्रमा बेलाबेलामा विवाद आउने गरेको र भारतीय पक्षले नेपालको सिमा क्षेत्रमा कब्जा जमाउन खोजिरहेकोले तत्काल यसको समाधान गरिनु पर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय सरकार प्रमुखका हैसियतले आफुले यस विषयमा बिगत देखि हालसम्म राज्य संग पहल गरिरहेको र अझै पहल कदमी जारी राख्ने प्रतिबद्धता जनाउनु भयो ।

यसैबीच, बेलौरी नगरपालिका वडा नम्बर ८ मा पर्ने खप्टि पुलदेखि हुलाकी सडकहुँदै पुरानो ३८ नम्बर सीमा स्तम्भ सम्मको भुभाग भारतले आफ्नो भएको दाबी गर्दै आएको छ । भारतीय पक्षले बेलाबेलामा हुलाकी सडकखण्ड निर्माणको काममा समेत अवरोध सृजना गर्दै आएको छ । ईँटा उद्योगी हरि चन्द ठकुरीका अनुसार तत्कालिन ३८ नम्बर पिलरको आधार स्तम्भलाई नेपाल सरकारका तर्फबाट सुदर्शन धामीको नेतृत्वमा खटिएको सीमा सर्भे टोलीले सिमा स्तम्भ नै ठोकुवा गरेपछि विवाद झन चुलिएको हो । विगतमा सीमा स्तम्भ खोला पारी रहेको र त्यो सीमा स्तम्भ खोलाले पुरिएपछि यो आधार स्तम्भका नाममा सारिएको उहाँको दाबी छ ।

यस्तै, बेलौरी नगरपालिका १० भुडामा नेपाल सरकारले प्रदान गरेको जमिनको लालपुर्जा नागरिकको हातमा छ र हालसम्म उक्त जमिन नेपाली नागरिकले भोगचलन गर्दै आएका पनि छन् । यद्यपी साविकको सीमा मानिएको क्षेत्र चौधर नदि भन्दा भित्र नेपाली भुमि (नहरसम्म) मा सीमा सर्भे टोलीले सीमा स्तम्भ निर्माण गर्न थालेपछि आफुहरुको दर्ता जग्गा भारतमा पार्न खोजेको भन्दै स्थानीय नागरिकले अबरोध सृजना गरेका छन् । स्थानीय नागरिकहरुले त सर्भे टोलीले भारतीय पक्षबाट ठूलो धनराशी घुस खाएर देशको भूमि बेच्ने षडयन्त्र गरेको सम्मका आरोप लगाउँदै आएका छन् । अहिले कञ्चनपुरको दक्षिणी क्षेत्रमा पुनर्वासको प्याराताल देखि बेलडाँडीको झिलमिलासम्म ठाउँठाउँमा सीमा विवाद देखिन्छ । सोही समस्या समाधानका लागि सीमा सर्भे टोली खटाइएको भएपनि विवाद झन बढ्दै गएको छ ।

यसैक्रममा, गतहप्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कञ्चनपुर क्षेत्र नम्बर १ का क्षेत्रीय संयोजक पल्लव राज भट्टको संयोजकत्वमा अन्तर्राष्ट्रिय सिमा सरोकार समूह कञ्चनपुर गठन गरिएको थियो । उक्त समूहको सकृयतामा कञ्चनपुरका जनप्रतिनिधि सहितले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाइएको थियो । ज्ञापन पत्रमा सुगौली सन्धि पश्चात स्थापना गरिएका आधार सीमा स्तम्भ (जंगे पिलर) लाई अन्तर्राष्ट्रिय सीमा रेखाङ्कनको आधार बनाउन र नियतवश सारिएका, गायव पारिएका पिल्लरलाई खोजी गरेर पुनःस्थापना गर्न माग गरिएको थियो । त्यस्तै, पत्रमा महाकाली सन्धिताका भएका जग्गा सट्टा भर्ना सम्बन्धी विवरण सार्वजनिक गर्न, ऐतिहासिक कालदेखि भोगचलन भएको अतिक्रमित जमिन फिर्ता गर्नुपर्ने, सीमा क्षेत्रमा हुने समस्याबाट जनताको सुरक्षाका लागि प्रत्येक दुई किलोमिटरमा सीमा सुरक्षा बल स्थापना गर्न माग गरिएको थियो । एकतर्फी तयार गरिएको स्ट्रिप नक्सा पुनरावलोकन तथा उक्त नक्सा तयार गर्ने तत्कालीन टोलीका मधुकर मास्के नेतृत्वको टोलीमाथि छानविन गरेर कारवाही गर्न उक्त पत्रमा माग गरिएको छ ।

त्यस्तै, बेलौरी–काठमाडौँ समाजको शनिबार बसेको बैठकले कञ्चनपुरको दक्षिणी क्षेत्रहरूमा भइरहेको सीमा अतिक्रमणको बिरुद्धमा आफ्नो संस्थागत र अन्य सीमा सरोकार समुहहरुसंग समन्वय गरी संस्थाका तर्फबाट हुन सक्ने सम्पूर्ण किसिमका सहयोग गर्ने निर्णय गरेको समाजका नव नियुक्त सह–सचिव हरिश पन्तले जानकारी दिनुभयो । त्यस्तै, अहिले बेलौरी नगरपालिकाका उपप्रमुख चित्र कुमारी चौधरी, वडाध्यक्षद्वय कलबीर चौधरी र साइतु कुमार चौधरी सहित उक्त अन्तर्राष्ट्रिय सिमा सरोकार समूह कञ्चनपुरको टोलीले संघीय सरकारका विभिन्न मन्त्रालय तथा केन्द्रीय स्तरका नेताहरु समक्ष गएर सीमा विवाद सहित समसामयिक विषयवस्तुमा छलफल गरिरहेको बताइएको छ ।

छलफलका क्रममा पुर्वउपप्रधान तथा गृहमन्त्री एवं नेकपा सुदूरपश्चिम इन्चार्ज भिम रावलले नापी विभागका निर्देशक लगायत कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी समेतलाई टेलिफोन गरी सिमामा विवादास्पद रहेको कार्यलाई तत्काल रोक्न निर्देशन दिनुभएको छ । आफू गृहमन्त्री भएका बेलासम्म स्ट्रिप नक्सामा दुई देशका सरकार बीच हस्ताक्षर भइनसकेको र दुई देशका नापी विभागले मात्र हस्ताक्षर गरेको उक्त स्ट्रिप नक्सालाई पुनरावलोकन नगरी कार्यान्वयन नगर्न निर्देशन दिनुभयो । सिमा जस्तो संवेदनशील विषयमा सबै पक्ष जिम्मेवार भएर लाग्नु पर्ने र कुनै पनि राष्ट्र सेवक कर्मचारी वा कुनै पनि व्यक्तिहरुले यदि राष्ट्रको अहित हुने गरी कार्य गर्छन भने ती सबै राष्ट्रका गद्ददार हुन भन्ने मान्यतामा आफू प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button