तीन महिने अभियान शुरु
दमौली- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले तीन महिने पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान शनिबारदेखि शुरु गरेको छ । नेकपाका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले अभियानको शुभारम्भ गर्दै दुई ठूला पार्टी मिलेर बनेको नेकपालाई बलियो पार्टीको रुपमा विकास गर्न अभियान सार्थक हुने बताउनुभयो ।
हाल विश्वभर फैलिएको कोरोना भाइरसको जोखिम रहेकोले अभियानकै क्रममा सो भाइरस विरुद्ध जनस्तरमा सचेतना कार्यक्रम पनि सञ्चालन हुने पार्टीले जनाएको छ ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एकबहादुर राना, आशा कोइराला लगायतले पार्टीको तल्लो तहसम्मका कार्यकर्तामा उत्साह भर्न र जनतासँगको सम्बन्धलाई सुमधुर बनाउन सुदृढीकरण अभियानलाई सार्थक तुल्याउनुपर्नेमा जोड दिनुभयो ।
अभियान अन्तर्गत जिल्लाका स्थानीय तहका ८५ वटामा कार्यक्रम सञ्चालन गरिने पार्टीका जिल्ला सचिव राजेन्द्रकेशरी न्यौपानेले जानकारी दिनुभयो । उक्त अभियान जेठ मसान्तसम्म सञ्चालन हुनेछ । अभियानका क्रममा वडास्तरसम्म भेला, बैठक, प्रशिक्षण लगायतका कार्यक्रम सञ्चालन गरिनेछ ।
सुदृढीकरण अभियानका क्रममा पार्टी एकता तथा सरकारले गरेका राम्रा कामको प्रचारप्रसार समेत गराइनेछ ।








प्रतिक्रिया राख्नुहोस्