गाडी पुगेको खुसीमा बाजागाजा सहित स्वागत

अछाम । मंगलसैन नगरपालिका वडा नम्बर १३ को बाँडा सडक सञ्जालसंग जोडिएपछि स्थानीयले बाजागाजा सहित स्वागत गरेका छन् ।
जिल्लाको दुर्गम क्षेत्र बाँडामा सडक निर्माण भएपछि पहिलो पटक जीप पुगेको हो ।
मंगलसैन – लोडेघाट सडक खण्ड अन्तर्गत बाँडा सडक खण्डको मंगलसैन १ को पिठिमान्नादेखि बाँडासम्म करिब ६ किलोमिटर सडक निर्माण भएपछि बाँडागाउँमा जीप पुगेको हो । गाडी पुगेपछि त्यस क्षेत्रका स्थानीयको बर्षौदेखिको गाडी चढ्ने सपना पूरा भएको स्थाीय अगुवा कर्ण बहादुर धामीले बताउनुभयो ।
सडक खण्डको एक भब्य कार्यक्रमका वीच मंगलसैन नगर प्रमुख पदम बोहराले उद्धघाटन गर्नुभयो । गाउँमा गाडी पुग्दा स्थानीय निकै हर्षित हुँदै नगरपरमुख पदम बोहरा लगाएत सम्पुर्ण टिमलाई बाजागाजा सहित स्वागत गर्दै खुसी व्यक्त गरेका थिए ।

पिठीमान्ना –बाँडा–बस्तीसम्मको ९ किलोमिटर सडक निर्माणका लागि ठेक्का मार्फत काम गरिएको थियो । सांसद यज्ञ बोगटीको निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमबाट ५० लाख र मंगलसैन नगरपालिकाको योजनाबाट बाँकी रकम गरी १ करोड ९० लाखको लागतमा सडक निर्माण योजना शुरु गरिएको मंगलसैन नगरपालिकाका प्रमुख बोहराले बताउनु भयो ।
नगर प्रमुख बोहराले आफुले चुनावमा गरेको बाचा अनुसार बस्ती र बाडाँमा सडक पु¥याएको भन्दै यसको स्तरोन्नती र बाह्रै महिना सडक सञ्चालनका लागि थप ध्यान दिनुपर्ने बताउनु भयो । बस्ती तथा बाँडाकै लागि नगरपालिकाले छुट्टै डोजर खरिद गरेर सडक निर्माणका लागि अग्रसर रहेको भन्दै नगरप्रमुख बोहराले अब आफ्नो कार्यकाल भित्रै बस्तीमा बिजुली समेत बालेर छाड्ने प्रतिबद्धता जनाउनु भयो ।
“आफ्नो कार्याकालमा बस्ती– डाँडिगडे– लोडेघाट सडक सञ्जाल पु¥याउने मेरो पहिले देखिको धोको हो, त्यो धोको अब विस्तारै पूरा हुदैछ” नगरप्रमुख बोहराले भन्नुभयो –“नगरका जनतालाई सुख, सुविधा तथा समृद्धि दिनका लागि आफु सधै तत्पर छु । ”
यो ठाउँको विकासका लागि आफु सधैँ सकारात्मक रहेको भन्दै शिक्षा, स्वास्थ्य, कृषिमा जनतालाई सहज गर्ने बताउनु भयो । यो ठाउँ प्राकृतिक रुपमा धनी भएकाले बिभिन्न व्यवसायमा लाग्न उहाले आग्रह गर्नुभयो ।

मंगलसेन नगरपालिका उपप्रमुख सरिता उपाध्यायले वडा नम्बर १३ लगायत नगरको बिकासका लागि नगरपालिका लागि परेको बताउनु भयो महिलाहरुले आफ्नो अधिकार सुनिश्चित गर्न आफै सक्रिय हुनु पर्ने उहाँको भनाई छ । सडक संजालमा जोडिएसँगै अब यो क्षेत्रमा बिभिन्न आयमुलक कार्यक्रम लागू गर्ने र उत्पादन बढाउनतर्फ स्थानीय अग्रसर हुनुपर्ने नगर उपप्रमुख उपाध्यायले बताउनु भयो ।
वडा सदस्य सरुदेवि धामीले गाडी पुग्दा स्थानीय निकै खुसी भएका भन्दै यसको निरन्तरताका लागि वडाको टिम सक्रिय हुने बताउनु भयो । सडक मंगलसैन हुँदै लोडेघाटबाट सेती लोकमार्गसम्म जोडिने र यसबाट अछाम र डोटी जिल्लाका स्थानीय समेत लाभान्वित हुने नगरपालिकाले जनाएको छ ।
सडक उद्घाटन कार्यक्रममा मंगलसैन नगरपालिका वडा नम्बर १ का अध्यक्ष गोपाल बहादुर थापा, वडा नम्बर २ का अध्यक्ष मान बहादुर बोगटी, वडा नम्बर ६ का अध्यक्ष जनक भण्डारी, नगरसभा सदस्य तथा नेकपा मंगलसैन नगरकमिटी अध्यक्ष बिर्ख बोगटी, नेपाली कांग्रेसका हिक्मत बोगटी, जनसेवा नेपालका अध्यक्ष कर्ण धामी, नेकपाका रतन धामी लगायतले मन्तब्य राख्नु भएको थियो ।







प्रतिक्रिया राख्नुहोस्