तपाईँ सुन्दै हुनुहुन्छः

जबजको उपदेयता अझै रहेको छ :  वरिष्ठ नेता नेपाल   

काठमाडौँ –  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज)को उपदेयता अझै रहेको बताउनुभएको छ ।

भण्डारी फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘मदन भण्डारी छलफल शृङ्खला– ५’ अन्तर्गत ‘नेपाली कम्युनिष्ट आन्दोलन मा जनताको बहुदलीय जनवाद’ विषयकको छलफल कार्यक्रममा उहाँले जबजको नामकरण गर्न आफ्नो पनि भूमिका रहेको उल्लेख गर्दै जबजले पार्टी, समाज र राज्यसत्ता सञ्चालनमा भूमिका खेल्ने बताउनुभयो ।

उहाँले कतिपयले जबजलाई माक्र्सवादको विचलन भनी लगाएको आरोप आफूले सुन्ने गरेको बताउँदै जबजलाई पार्टी सङ्गठन सुदृढीकरण र वैचारिक पक्षमा उभ्याउनुपर्नेमा जोड दिनुभयो । मदन भण्डारीले कम्युनिष्ट आन्दोलनमा दिएको योगदान अविस्मरणीय रहेको बताउँदै उहाँले पार्टी एकतापछि जबज र २१औँ शताब्दीको जनवादबाट नै नयाँ पार्टीको सिद्धान्त बनाइने जानकारी दिनुभयो ।

जबजले नै राजनीतिक क्रान्ति सफल पार्न भूमिका खेलेको हो भन्दै पूर्वप्रधानन्त्री नेपालले क्रान्तिबाट प्राप्त उपलब्धिलाई सुदृढ गरेर समाजवादको आधार तयार गर्नु अहिलेको आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो । “समाजवाद नै अहिलेको ध्येय हो । त्यसैले समाजवादका लागि पूर्वाधार निर्माण गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारीले जबजको दस्तावेजीकरण गरी नयाँ पुस्तालाई जानकारी गराउनका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । गत भदौदेखि शुरु गरिएको शृङ्खलाबद्ध छलफलमा नेकपा सचिवालय सदस्य वामदेव गौतम, नेता मोदनाथ प्रश्रित, प्रदीप नेपाल र मुकुन्द न्यौपाने सहभागी भइसक्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button