तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुरमा दुग्ध उद्योग स्थापना

भरतपुर । भरतपुर महानगरपालिका वडा नम्बर २२, पटिहानीमा दुग्धजन्य पदार्थमा विविधिकरण गर्न र खपत बढाउने उद्धेश्यले दुग्ध उद्योग स्थापना गरिएको छ ।

पटिहानीस्थित गंगानगर दुग्ध उत्पादक सहकारीले सरकारी अनुदान ८५ लाख र सहकारीको लगानी एक करोड १५ लाख रुपैयाँ गरी दुई करोड रुपैयाँको लगानीमा उद्योग स्थापना गरेको हो ।

गंगानगर दुग्ध उत्पादक सहकारीले बिहीबार पटिहानीमा पत्रकार सम्मेलनको आयोजना गरी उद्योगबारे जानकारी गराएको छ ।

पत्रकार सम्मेलमा बोल्दै सहकारीका अध्यक्ष कृष्ण प्रसाद सापकोटोले दुधलाई विविधिकरण गरी जिल्लामा नै खपत बढाउने उद्धेश्यले दुग्ध उद्योग स्थापना गरिएको बताउनु भयो । ‘अहिले दैनिक पांँच हजार लिटर संकलन हुन्छ , उहांँले भन्नुभयो, यसलाई विविधिकरण गर्दा यहीं खपत बढाउन सकिन्छ ।’ उनका अनुसार अधिकांश दुध काठमाडौमा पठाउने गरिएको र उद्योग स्थापना गर्दा सबै दुधलाई यहीं खपत गर्न सकिने छ । सहकारीले चैत्र मसान्तभित्र आफ्ना उत्पादन बजारमा लैजाने तयारी गरेको छ । यसअघि दुधमात्र संकलन गरेर विक्री गर्दै आएको संस्थाले अब गंगा बा्रण्डको पोलि सिल्ड प्याक दुध, दही, पनीर, नौनी आइसक्रिम लगायतका उत्पादन गरिने उहांँले जानकारी दिनुभयो ।

सो अवसरमा बोल्दै संस्थाका सदस्य हेमराज आचार्यले उद्योगबाट उत्पादन भएका पदार्थको बजारमा दुध संँगै अन्य यसका पदार्थमा उपभोक्ताको आकर्षण र माग बढेकोले उद्योगको स्थापना गरिएको बताउनु भयो ।

गंगानगर दुग्ध उत्पादक सहकारीले गत आर्थिक वर्षमा १५ करोड रुपैयाँको आर्थिक कारोबार गरेको छ । चालु आर्थिक वर्षमा २० करोड रुपैयाँको आर्थिक कारोबार हुने सहकारीको अनुमान छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button