प्रतिनिधी सभा बैठक : तीन विधेयक पारित

काठमाडौँ । प्रतिनिधीसभाको आजको बैठकले शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५, बीउबिजन दोस्रो संशोधन विधेयक २०७६ र विरुवा संरक्षण पहिलो संशोधन विधेयक २०७६ लाई पारित गरेको छ ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गर्नुभएको शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ र कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुषालले प्रस्तुत गर्नुभएको बीउबिजन दोस्रो संशोधन विधेयक २०७६ र विरुवा संरक्षण पहिलो संशोधन विधेयक २०७६ लाई बैठकले सर्वसम्मतिले पारित गरेको हो ।
यसैगरी बैठकमा अर्थमन्त्री डा.युवराज खतिवडाले प्रस्तुत गर्नुभएको बैंक तथा वित्तिय संस्था सम्बन्धी पहिलो संशोधन बिधेयक २०७६ माथी बिचार गरियोस् भन्ने प्रस्ताव बैठकले बहुमतले स्वीकृत गरेको छ ।
बैठकमा अर्थ समितीका सभापति कृष्णप्रसाद दाहालले नागरिक लगानी कोष दोस्रो संशोधन विधेयक सम्बन्धी समितीको प्रतिवेदन २०७६ र शिक्षा तथा स्वास्थ्य समितीका सभापति जयपुरी घर्तीले राष्ट्रिय खेलकुद बिकास विधेयक सम्बन्धी समितीको प्रतिवेदन २०७६ पेश गर्नुभयो ।
यसअघि प्रतिनिधी सभाको आजको बैठकमा सांसदहरुले भ्रष्टाचारका कसुरमा छानबीन समिती नै गठन गरेर भ्रष्टाचारमा संलग्नलाई कारवाहीको दायरामा ल्याउन, लिम्पियाधुरा,लिपुलेक,कालापानी क्षेत्रको सीमा समस्या समाधान गर्न सरकारको ध्यानाकृष्ट गराउनुभयो ।
सांसदहरुले पूर्ब संचारमन्त्री गोकुल प्रसाद बासकोटाको ७० करोड कमिसन मांगेको भिडियो संबादका बिषयमा प्रधानमन्त्रीले संसदलाई स्पष्ट पानुपर्ने मांग गर्नुभयो ।
बैठकमा सांसदहरुले जातिपातिका आधारमा अझैपनि दलितले डेरा पाउन कठिन भईरहको भन्दै त्यस्तो जातीय बिभेद गर्ने घरधनीलाई कारवाही गर्न,काठमाडौंको जाम र गाडीभित्रको जामका बारेमा ध्यान दिन आग्रह गर्नुभयो ।
सांसदहरुले फागुन १३ गतेको प्रतिनिधी सभाको बैठक सुरु भईसकेर पनि गणपुरक संख्या नपुगी स्थगित गर्नुपरेको सन्दर्भ उल्लेख गर्दै संसदमा आउने तर नबस्ने सांसदको रेकर्ड राख्न मांग गर्नुभयो ।
बैठकमा सभामुखसंग बिशेष समय लिएर बोल्दै पूर्ब प्रधानमन्त्री एवं सांसद डा. बाबुराम भट्टराईले आफ्नो नेतृत्वको सरकारले त्यतिबेला मातातीर्थलगायतका क्षेत्रमा मोहीलाई जग्गा दिएको हो,त्यो नियमानुसार दिईएको होभनी प्रष्ट पार्नुभयो ।
पूर्ब प्रधानमन्त्री डा. भट्टराईले अहिले भने सरकारले खोस्दा उनीहरुमा अन्यौल र चिन्ता रहेकोले त्यसतर्फ सरकार स्पष्ट हुनुपर्ने उल्लेख गर्नुभयो ।
पूर्ब प्रधानमन्त्री डा. भट्टराईले संविधान संशोधन कसैलाई प्रधानमन्त्री बनाउन मात्र नभई जनताबाट निर्बाचित कार्यकारी बनाउनकालागि गरौं भनी आग्रह गर्नुभयो ।
प्रतिनिधीसभाको अर्को बैठक भोली फागुन १५ गते बिहिबार दिनको १ः०० बजे बस्नेछ ।







प्रतिक्रिया राख्नुहोस्