सामुदायिक बिद्यालयको सुधार सरकारको उच्च प्राथमिकतामा : मन्त्री बोहरा

अछाम । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले सामुदायिक बिद्यालयको सुधारलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ ।
अछामको बान्नीगढी जयगढ गाउँपालिकास्थित नन्दा माध्यमिक बिद्यालयको स्वर्ण जयन्ती कार्यक्रमको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
वर्तमान संरचनामा शिक्षाको जिम्मेवारी तीनै तहमा बाँडफाँड भएपनि माध्यामिक तहसम्मको शिक्षाको अधिकार स्थानीय सरकारलाई दिईएको भन्दै स्थानीय सरकारले शैक्षिक सुधारका लागि बढी ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।प्रदेश सरकारले शिक्षालाई प्राथमिकता दिएर नीतिगत सुधारको पहल गरिरहेको उहाँले बताउनुभयो ।
सरकारले पञ्चबर्षीय योजना अनुरूप काम थालेको भन्दै उहाँले त्यसमा शिक्षा र प्राविधिक शिक्षाको प्राथमिकीकरण गरिएको दावी गर्नुभयो । प्रदेशलाई समृद्ध बनाउन रणनैतिक योजनासहित वित्तीय सम्मेलन पश्चात् लगानी सम्मेलन आयोजना गर्न लागिएको जानकारी समेत उहाँले दिनुभयो ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष झपटराज उपाध्यायको अध्यक्षतामा सुरुभएको कार्यक्रममा टिकापुर नगरपालिका प्रमुख तपेन्द्र बहादुर रावल, जिल्ला समन्वय समितिका उपप्रमुख टोपबहादुर रावल, पुर्व जिल्ला बिकास समितिका सदस्य कृष्णप्रसाद जैशी, बान्निगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र खड्का लगायतको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्