झापामा दादुरा रुबेला खोप अभियान आजदेखि शुरु

भद्रपुर, झापा । प्राणघातक रोग दादुरा रुबेलालाई उन्मूलनको अवस्थामा पुर्याउने बिश्व स्वास्थ्य सङ्गठनको अभियानअनुसार झापामा दादुरा रुबेलाको खोप लगाउने अभियान आजबाट शुरु भएको छ ।
अझै पनि झण्डै २० प्रतिशत बालबालिकाहरु पूर्ण खोपको पहूँचमा नरहेको देखिएकोले कोही पनि बालबालिका खोपबाट बञ्चित नहून् भन्ने उद्देश्यले नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई दादुरा रुबेला र जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकालाई पोलियो खोप अभियान नै सञ्चालन गरिएको हो ।

वि. सं २०३४ देखि नै नियमित खोप सञ्चालन भइरहेपनि अझै एक प्रतिशत बालबालिकाले खोप नै नलगाएको अवस्था र २० प्रतिशत बालबालिकाले बीचैमा छोड्ने गरेको देखिएकोले सरकारले दादुरा रुबेला खोपको अभियान चलाएको जनस्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरीप्रसाद पौडेलले जानकारी दिनुभयो ।
झापाको सदरमुकाम भद्रपुरको वडा नं १० परिसरमा आज भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठले स्वास्थ्यकर्मीलाई दादुरा रुबेलाको खोपको सिरिञ्ज हस्तान्तरण र ल्याइएकी एक बालिकालाई पोलियो थोपा खुवाएर अभियान शुभारम्भ गर्नुभयो ।
झापामा खोप लागाउनुपर्ने अवस्थाका बालबालिकाको संख्ण ९५ हजार रहेको छ भने तीमध्ये ७८ हजार दुई जनालाई दादुरा रुबेलाको खोप लगाइने कार्यक्रम रहेको जनस्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत जीवन चौलागाईंले बताउनुभयो ।

झापामा दुई चरणमा अभियान सञ्चालन हुनेछ । झापा गाउँपालिका र कनकाई नगरपालिकाबाहेकका माईवारिका पालिकाहरुमा आजदेखि अभियान सञ्चालन भएको छ भने माईपारिका पालिकाहरुमा यही फागुन २१ देखि अभियान शुरु गरिने कार्यालयले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्