झापामा मुलुककै सबैभन्दा ठूलो कृषि उपज प्रवद्र्धन केन्द्र निर्माण हुने
भद्रपुर, झापा । धान, मकैलगायतका खाद्यबाली उत्पादनमा अग्रणी जिल्ला मानिने झापामा मुलुककै सबैभन्दा ठूलो कृषि व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र निर्माण हुने भएको छ ।
सरकारको लगानी र नेपाल उद्योग वाणिज्य महासंघको अग्रसरतामा झापाको प्रमुख व्यापारिक केन्द्र विर्तामोड नगरपालिकामा प्रवद्र्धन केन्द्र निर्माण हुने भएको हो ।
विर्तामोड– ८ स्थित दुर्गा भगवती गुठीको नाममा रहेको आठ विगाहा १३ कट्ठा १५ धुर जग्गामा प्रवद्र्धन केन्द्र निर्माण गर्ने गरी नेपाल उद्योग वाणिज्य महासंघ र विर्तामोड नगरपालिकाबीच मंगलबार सम्झौता भएको विर्तामोड नगरपालिका उपप्रमुख पवित्रा महतारा प्रसाईंले जानकारी दिनुभएको छ ।
नेपाली कृषि उपज तथा कृषिजन्य वस्तुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरण गर्ने, नेपाली कृषि वस्तुको मूल्यमा बृद्धि गर्ने उद्देश्यले केन्द्र निर्माण गर्न लागिएको नेपाल उद्योग वाणिज्य महासंघ, कृषि उद्यम केन्द्रका सह सभापति हेमराज ढकालले बताउनुभयो ।
नेपाली कृषि उपजको अत्याधुनिक प्रशोधन केन्द्र, टेष्टिङ केन्द्र, अक्सन केन्द्र, कृषि वस्तु परीक्षण प्रयोगशालाहरु रहने प्रवद्र्धन केन्द्रको अवधारणाअनुसारको बृहत परियोजना प्रतिवेदन ६ महिनाभित्र तयार गरी निर्माण प्रक्रिया शुरु गरिने बताइएको छ ।
सम्झौतापत्रमा नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट उपाध्यक्ष उमेशलाल श्रेष्ठ र विर्तामोड नगरपालिकाको तर्फबाट नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले हस्ताक्षर गर्नुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्