तपाईँ सुन्दै हुनुहुन्छः

रोल्वालिङ पदमार्गमा पर्यटकको संख्या बृद्धि

दोलखा । रोल्वालिङ क्षेत्र दोलखाको महत्वपूर्ण पदमार्ग हो । गौरीशङ्कर संरक्षण क्षेत्रमा पर्ने दोलखाको गौरीशङ्कर गाँउपालिका भित्रको रोल्वालिङ पदमार्गमा बर्षको दुई सिजन बिभिन्न हिमालहरुको आरोहण र च्छो रोल्पा हिमतालको भ्रमणको लागि आन्तरीक एवं बाह्रय पर्यटकहरु पुग्ने गरेका छन् ।

विगतमा थोरैमात्र पर्यटक रोल्वालिङ पदमार्गमा पुग्ने गरेकोमा अहिले बर्षको दुई सिजनमा झण्डै पाँच सय पर्यटक पुग्ने गरेको ठाङदिङका होटल व्यवसायी रिकु शेर्पा बताउनु हुन्छ । रोल्वालिङ पदमार्गमा हरेक बर्षको असोज, कार्तिक, मंसिर र चैत्र, बैशाख, जेठ मा च्छो रोल्पा हिमतालको भ्रमण तथा ५६३० मीटरको यलुङ री, ५९२५ मीटरको रम्दुङ, ६ हजार मीटर माथिको फर्छेम लगायतको हिमाल आरोहणको लागि पाँच सय पर्यटक पुग्ने गरेको अर्को होटल व्यवसायी बोलेन्द्र आचार्य बताउनु हुन्छ ।

रोल्वालिङ पदमार्ग विगु गाँउपालिकाको जगतबाट सुरु हुन्छ । जगत हुदै गौरीशङ्कर गाँउपालिकाको सिमिगाँउ, सुरमुचे, क्याल्चे, डोङखाङ, ठाङ्दीङमा, बेदीङ, ना गाँउ तर्फ अघि बढ्ने रोल्वालिङ पदमार्गले एकातिर आरोहणको लागि बिभिन्न हिमाल भएको ठाँउमा लैजान्छ भने अर्को तिर च्छो रोल्पा हिमताल, दुधकुण्ड भएको ठाँउमा लैजान्छ ।

सिमिगाँउबाट चाँडो गर्दा तीन दिनमा च्छो रोल्पा पुगिने स्थानिय होटल व्यवसायी एवं हिमाल आरोहि फुर्वाठिले शेर्पा बताउनु हुन्छ । सिमिगाँउबाट च्छो रोल्पासम्म २२ ओटा होटलहरु रहेको होटल व्यवसायी बोलेन्द्र बताउनु हुन्छ ।

गौरीशङ्कर संरक्षण क्षेत्रले पर्यटकहरुलाई थप आकर्षित गर्न र भ्रमण बर्ष २०२० मा अधिक पर्यटक भित्राउने उदेश्यले रोल्वालिङ पदमार्गमा रहेका २२ वटा होटलका सञ्चालहरुलाई पर्यटन व्यवस्थापनको लागि कुक, आतिथ्य सत्कार तालिम सञ्चालनसंगै मेनु वितरण समेत गरिएको गौरीशङ्कर संरक्षण क्षेत्रका प्रमुख सत्यनारायण शाहले बताउनु भयो ।

रोल्वालिङ पदमार्गमा हिम चितुवा, रेड पाण्डा, हिमाली कुखुरा, डाँफे, मुनाल जस्ता दुर्लभ बन्यजन्तु तथा पशुपंक्षीहरु समेत रहेकोले होटल व्यवसायीहरुले त्यसको प्रवद्धनको लागि समेत सहयोग गर्नु पर्ने संरक्षण प्रमुख शाह बताउनु हुन्छ ।
व्यवस्थापन तालिमका सहभागि होटल व्यवसायीहरुले रोल्वालिङ पदमार्गमा विद्युत सेवा विस्तार गर्नुपर्ने, पर्यटकहरुको तथ्याङ्क राख्नु पर्ने, पदमार्गमा होडिङ बोर्ड राख्नु पर्ने, चेक पोष्ट राख्नु पर्ने बताएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button