कृषि उत्पादन बढाउन चक्लाबन्दी

पर्वत । गण्डकी प्रदेश सरकारले कृषि उत्पादन बढाउन जमिन चक्लाबन्दी गर्ने कार्यक्रम शुरु गरेको छ ।
भिरालो जमिन, सानो फोहाटा र सुर्का काटेर चाक्लो बनाएर व्यवसायीक खेती बिस्तार गर्न सरकारले चक्लाबन्दी कार्यक्रम शुरु गरेको हो । प्रदेश सरकारको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जमिन चक्लाबन्दीका लागि किसानलाई अनुदान समेत दिने गरेको छ ।
मन्त्रालयले प्रदेशका ११ जिल्लाकै सहकारी, समूह, कम्पनी र किसानलाई योजनामा सहभागी हुन आह्वान गरेको छ । कार्यक्रममा सहभागी हुनेलाई ५० रोपनी जग्गा बराबर १० लाख रुपैयाँ अनुदान दिइने मन्त्रालयले जनाएको छ । सय रोपनी चक्लाबन्दी गर्नेलाई २० लाख र त्यसभन्दा माथि प्रतिरोपनी १० हजार रुपैयाँका दरले अनुदान दिइने मन्त्रालयका बरिष्ठ नापी अधिकृत गंगाप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
कार्यक्रममा समावेश हुन कम्तीमा ५० रोपनी जग्गा आवश्यक पर्ने पोखरेलले बताउनुभयो । कार्यक्रममा समावेश हुने किसानले वर्षेनि उक्त जमिनमा कम्तीमा २ खेती लगाउनुपर्छ । १० वर्षसम्म आवासका लागि प्रयोग गर्न नपाउनेगरी कार्यविधि बनाइएको मन्त्रालयले जनाएको छ । यो अवधारणाले खेती गर्दा लाग्ने जनशक्तिमा ८० प्रतिशतसम्म कटौती हुने र उत्पादन दोब्बरले बढ्ने मन्त्रालयको अपेक्षा छ ।
नापी अधिकृत दामोदर भट्टराईका अनुसार छिरलिएका टुक्रा जमिनलाई एकै ठाउँमा बनाउने गरी नक्सा निकाल्ने काम भइरहेको छ । व्यावसायिक खेती गर्न चाहनेलाई यस्तो कार्यक्रम निकै उपलब्धिमूलक हुने किसानको प्रतिक्रिया छ ।







प्रतिक्रिया राख्नुहोस्