सामाजिक विकास कार्यालय स्थापना गर्ने संघिय र प्रदेश सरकारबीच सहमति

काठमाडौ- संघीय सरकार र सुदूरपश्चिम प्रदेश सरकारबीच पनि जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्ने सहमति भएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टबीच शनिबार धनघडीमा भएको भेटवार्तामा सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्ने सैंद्धान्तिक सहमति भएको हो ।
संघीय सरकारले कर्मचारीको व्यवस्थापन गर्नेगरी सुदूरपश्चिम प्रदेशका जिल्लामा पनि सामाजिक विकास कार्यालय स्थापना गर्ने सैद्धान्तिक सहमति गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री गुरुङले जानकारी दिनु भयो । भेटमा मन्त्री गुरुङले छाउगोठलगायतका सामाजिक कूरीति अन्त्यका लागि सहकार्यका साथ काम गर्न मुख्यमन्त्री भट्टसँग आग्रह गर्नु भएको थियो ।
मुख्यमन्त्री भट्टले पनि संवैधानिक व्यवस्था अनुसार सबै तहको सरकारसँगको सहकार्य गरेर अघि बढने प्रतिवद्धता मन्त्री गुरुङसँग व्यक्त गर्नु भएको थियो । भेटमा मन्त्री गुरुङले अपांगमैत्री भौतिक पूर्वाधार निर्माणमा केन्द्रित हुन पनि प्रदेश सरकार र स्थानीय सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।
भेटवार्ता संघीय संसदको महिला तथा सामाजिक विकास समितिकी सभापति निरुदेवी पाल, सूदुरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री पठानसिंह बोहोरालगायतका उपस्थिति रहेको थियो ।
यस अघि मन्त्री गुरुङले प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे, प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साह, गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुन, प्रदेश ५ का सामाजिक विकासमन्त्री सुर्दशन बराल र कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलसँग गत बुधबार ललितपुरमा सामूहिक भेट गरी सामाजिक क्षेत्रको कामलाई प्रभावकारी ढंगले अघि बढाउन सबै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्ने सहमति जुटाउनु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्