तपाईँ सुन्दै हुनुहुन्छः

कालिञ्चोकमा लगातार हिमपात, चार हजार पर्यटक पुगे

दोलखा । प्रसिद्ध कालिञ्चोक मन्दिर क्षेत्रमा बिहिबार रातीदेखि लगातार हिमपात भइरहेको छ । लगातारको हिमपातका कारण अत्यधिक चिसो बढे पनि कालिञ्चोकको कुरी क्षेत्रमा झण्डै चार हजार पर्यटक रमाईरहेको सुनपाति होटलका सञ्चालक हरि ओलीले बताउनुभयो ।

तीन हजार आठ सय४२ मीटरको उँचाईमा रहेको कालिञ्चोकमा पुषदेखि चैत्रसम्म अत्याधिक हिमपात हुने भएकोले लाखौँ पर्यटक पुग्ने गरेका छन् । कालिञ्चोकको कुरी क्षेत्रमा रहेका ५० भन्दा बढी साना तथा ठूला होटलहरु बिहिबार दिउँसोदेखि नै भरीएको ओलीले बताउनुभयो ।

शुक्रबार र शनिबार त्यसै पनि मानिसहरुको उपस्थिति उल्लेख्य हुने गरेकोमा हिमपात भएपछि कुरीका कुनै पनि होटलहरु खाली नहुने स्थानीय बताउछन् ।

महत्वपूर्ण धार्मिक गन्तव्यको रुपमा रहेको कालिञ्चोकको चुचुराबाट हिमश्रृङ्खला र हिउँले ढाकिएको सुन्दर पहाडहरु देखिने भएकोले हिमपातको मौसममा अत्याधिक पर्यटक पुग्ने गरेको होटल व्यवसायीहरुको भनाई छ ।

बिहिबारबाट लगातार हिमपात भइरहेकोले कालिञ्चोक र कुरी क्षेत्र आसपास झण्डै चार फिट हिउँ जमिसकेको स्थानीय बताउछन् ।

काठमाडौँबाट चरिकोट एक सय ३३ किलोमीटर र चरिकोटबाट कालिञ्चोक १७ किलोमीटरको दूरीमा रहेको छ । काठमाडौँबाट नजिक तर रोमाञ्चक हिम पहाडले ढाकिने स्थान भएकोले पनि कालिञ्चोकमा हिमपातको मौसममा अत्याधिक पर्यटक पुग्ने गरेको स्थानियको भनाई छ ।

लगातारको हिमपातका कारण चरिकोटबाट गैरीसम्म मात्र यातायात सञ्चालन भएको र गैरीबाट चेन भएका केही बोलेरोले मानिस ओसारी रहेको सुनपाती होटलका सञ्चालक ओलीले बताउनुभयो ।

लामोसाँगु जिरी सडकखण्डमा पर्ने दोलखाको खरीढुङ्गा क्षेत्रमा पनि शुक्रबार बिहानैदेखि हिमपात भइरहेको तर यातायात भने अहिलेसम्म अवरुद्ध नभएको दोलखाका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button