मिथिलामा तिला संक्रान्ति पर्व मनाईदै, घर घरमा उपहार दिने क्रम जारी

जनकपुरधाम । मिथिलाञ्चल क्षेत्रमा पनि स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल तथा अन्य प्रकारको तरुवा एवं खिचडी खाएर मक्कर सङ्क्रान्ति पर्व आज मनाईदैछ ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । माघ १ गतेबाटै उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटो हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिएको छ ।
यसैले आजको दिन जनकपुरधामको प्रसिद्ध गंगासागर, धनुषसागर, दुग्धमति तथा धनुषा तथा सिरहाको सीमानामा रहेको कमला नदिमा स्नान तथा दान गर्नेहरु अत्याधिक भिड देखिएको छ । जनकपुरधामको गंगासारगमा स्नान र दान गर्नेको संख्या उल्लेख्य रहेको छ ।
सूर्य उत्तरायण भएका बेला गरिएको स्नान, दान, जप, तप, तीर्थ, व्रतलाई उत्तम मानिएको छ । यो समयमा भएको जन्म र मरण पनि उत्तम हुन्छ ज्योतिष शास्त्रका अध्येताहरुले बताउनु हुन्छ ।
तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी छ प्रकारले तिलको प्रयोग माघ महीनामा गर्नाले यो लोकमा सुख शान्ति पाई परलोकमा मोक्ष पाइने धार्मिक विश्वास समेत छ । माघ शुक्ल पक्षमा तिललाई छ प्रकारले प्रयोग गर्ने शासस्त्रीय मान्यता रहेको छ ।
आजका दिन बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख छ । स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनोकामना पूर्ण हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ ।
माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने र खुवाउने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।
मिथिलाञ्चल क्षेत्रमा यस दिन हुनेहरुले नहुनेहरुलाई तिल, मुरी, च्युरा सहितका परिकारहरुको लड्डु दान दिने चलन रहेको छ । यसका साथै ईष्टमित्रलाई कोसेलीको रुपमा दिने चलन पनि रहेको छ । यसका दिन ब्राह्मण भोजन गराउने तथा न्यानो कपडा दान गर्ने चलन रहेको छ ।
माघे संक्रान्तिको अवसरमा आज प्रदेश २ सरकारले सार्वनामिक विदा दिएको छ । प्रदेश सरकार मातहतमा रहेको सरकारी कार्यालयहरुको कामकाज बन्द नै रहेका थिए ।








प्रतिक्रिया राख्नुहोस्