तपाईँ सुन्दै हुनुहुन्छः

थारू समुदायको मघौटा नृत्यमा परम्परागतपन हराउँदै

कञ्चनपुर। कञ्चनपुरलगायत थारू बाहुल्य रहेका क्षेत्रमा परम्परागत पहिरनमा सजिएका थारू महिलाले माघीका बेला देखाउने लोकप्रिय नृत्य मघौटाको परम्परागतपन हराउँदै जान थालेको छ ।

रोचक तरिकाले देखाइने मघौटा नृत्यको शैलीमा परिवर्तन हुँदै जाँदा यसको परम्परागतपन हराउँदै गएको हो । “मादलको तालसँगै परम्परागत शैलीमै मायापिरतीका गीतहरु दुई पंक्तिमा उभिने महिलाले नृत्य गर्नेलाई उत्तेजित पार्ने गरी गाउने गर्दछन्”, थारू संस्कृतिका जानकार दानसिंह दहितले भन्नुभयो, “नृत्य गर्ने महिलाले मादलको तालसँगै दर्शकलाई मन्त्रमुग्ध पार्ने गरी नाच्नुपर्ने हुन्छ ।”

“नाच्ने महिलाले नृत्यमात्रै प्रस्तुत नगरी नृत्य गरिरहेकै बेला उल्टो शरीरपारि आँखाको परेलाले सियो टिप्ने, रुपैँया उठाने करतवसमेत देखाउने गर्दछन् । त्यो कार्य हाल हराउँदै जान थालेको छ”, उहाँले भन्नुभयो ।

नृत्यङ्गनाको रोमाञ्चले भरिएको नृत्य हेर्नका लागि छिमेकी गाउँबाट समेत मानिसहरु पुग्ने गर्दथे, हाल यी सबै कार्य ओझेलमा परेको उहाँको भनाइ छ । मादल बजाउने, गीत गाउने र सामान्य तरिकाले नाच्ने कार्य गरेर परम्परा जोगाउने कार्य मात्रै हाल हुँदै आएको स्थानीयवासी नरेन्द्रप्रसाद चौधरीले बताउनुभयो । परम्परागत गीत, नृत्यकला जानकारीको अभावमा ओझेलमा पर्दै गएकाले यसलाई बचाउनका लागि बूढापाकाले यसको महत्वबारे युवापिँढीलाई सिकाउनुपर्ने उहाँको भनाइ छ ।

पहिला गाउँमा माघीका बेला मघौटा नृत्य गर्ने समूह एउटै हुन्थ्यो, हाल टोलपिच्छे अलग–अलग टोली बनाइ नाच्ने गरिँदै आएको छ, यसैकारणले समेत यसको रौनकतामा कमी देखिएको अर्का स्थानीयवासी कल्छु चौधरीले बताउनुभयो ।

उहाँका अनुसार यो नृत्य गाउँका सबैको आँगनमा पुगी नाच्नुपर्ने हुन्छ । आँगनमा नाच्नका लागि पुग्नेहरुलाई घरधनीले मदिरा, ढिक्री, सुँगुरको शिकारले सत्कार गर्ने चलन छ । नृत्य टोलीलाई घरधनीले अन्न र पैसा दिई बिदा गर्दछन् । गुरुवाले तान्त्रिक अनुष्ठान गरेपछि शुभारम्भ हुने मघौटा नृत्य सबैका घर आँगनमा देखाइए वर्षभरिनै अन्न र सम्पत्तिले भरिपूर्ण हुने र रोगव्याधी हट्ने जनविश्वाससमेत रहेको छ ।

माघीको पहिलो दिन नृत्यको शुरुआत गरिने भए पनि दोस्रो दिन अर्थात् थारू भाषमा ‘जन्नीन्हक माघ’ देखि यो नृत्य घर घरमा देखाइन्छ । मघौटा नृत्य तीन दिनदेखि सात दिनसम्म देखाउने थारू समुदायमा चलन रहेको छ । नृत्य गर्दा लगाइने पहिरन र आभूषणसमेत हाल महिलाले लगाउन छाडेका छन् । त्यसको बदलामा आधुनिक बजारमा पाइने कपडा र गहना लगाउने चलन बढेको छ ।

वर्षभरिको कार्यको समीक्षा गर्ने र अर्को वर्षका लागि समीक्षा गर्ने कार्य माघीपर्वका बेला थारू समुदायले गर्दै आएका छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button