बैंकमा भेटियो बम

सप्तरी । एन आई सि एसिया बैंक राजविराजमा मंगलबार बम फेला परेको छ ।
मंगलवार बिहान ११ बजे तिर राजविराज ८ स्थित सो बैंकको दोस्रो तल्ला चढने भ¥यांडको कुनामा बम फेला परेको हो । तल ओर्लेको बेला प्रबन्धक मुकेश साहले कुनामा सेतो प्लास्टिकको कार्टुनमा शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गर्नुभएको थियो ।
सेतो कार्टुनमा खतरा लेखिएको तथा बिजुलीको तार बाहिर निस्केको बस्तु बम भएको खबर सँगै बैंकका कर्मचारी तथा भुईतल्लामा रहेका अन्य पसलेहरु त्रसित भएका थिए । बम राखिएको खबर प्राप्त भएपछि भिमदल गणका प्रमुख सेनानी गुप्त बहादुर कुँवर सहित क्याप्टेन कमल श्रेष्ठ नेतृत्वको बम डिस्पोजल टोली सो स्थानमा पुगी वरपर खाली गराएको थियो ।
सेनाको बम डिस्पोल टोलीले डेढ घण्टाको प्रयास पछि उक्त बम निस्कृय बनाएको प्रमुख सेनानी कुँवरले बताउनु भयो । बैंकका प्रबन्धक साहले यस अघि कुनै पनि व्यक्ति, समूह र भुमीगत पार्टीबाट चन्दा वा धम्की जस्ता कुनै कुरा नआएकाले कसले कुन नियतले बम राखेको हो ? बुझन नसकिएको बताउनु भयो ।
घटनाको अहिलेसम्म कसैले जिम्मा लिएको छैन । यसबारे आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्