पर्वतमा सुन्तलाको उत्पादन ७ प्रतिशतले वृद्धि हुने
पर्वत । पर्वत जिल्लाको मुख्य निर्यातजन्य वस्तुको रूपमा रहेको सुन्तलाको उत्पादन यस वर्ष सात प्रतिशतले वृद्धि हुने भएको छ ।
जिल्लामा गत वर्ष तीन हजार ४०० मेट्रिक टन सुन्तला उत्पादन भएकामा यस वर्ष सात प्रतिशतभन्दा बढीले वृद्धि हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।
केन्द्रका अनुसार यो वर्ष झण्डै तीन हजार ६५० मेट्रिक टन सुन्तला उत्पान हुने भएको हो । यस वर्ष अनुकूल मौसम, रोग कीराको प्रकोप कम र असिनापानी लगायतबाट कुनै क्षति नभएकाले सुन्तला उत्पादन बढ्ने देखिएको केन्द्रका प्रमुख वासुदेव रेग्मीले जानकारी दिनुभयो ।
जिल्लामा केही वर्षदेखि सुन्तला उत्पादन निरन्तर बढेको छ । गत वर्ष पनि अघिल्लो वर्षको तुलनामा चार प्रतिशतले सुन्तलाको उत्पादन वृद्धि भएको थियो ।
पर्वतमा ७७० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पर्वतको जलजला क्षेत्र र मोदी गाउँपालिकाका विभिन्न वडालाई सुन्तला क्षेत्रको रूपमा विकास गरिएको छ ।
जिल्लामा सबैभन्दा बढी बाँसखर्कमा मात्रै यस वर्ष झण्डै पाँच करोडको सुन्तला उत्पादन हुने अनुमान गरिएको छ ।
पर्वतको सुन्तला पोखरा हुँदै चितवन, काठमाडौँ, काकडभिट्टा, बुटवललगायतका शहरमा निर्यात हुँदै आएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।
यस वर्ष बोटबाटै प्रति किलो ६० का दरले सुन्तला बिक्री हुन थालेको देउपुरका कृषक बाबुराम शर्माले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्