सानाकिसान कृषि सहकारी संस्थामा सहकारी विभागले छानबिन गर्ने

बारा – बाराको सानाकिसान कृषि सहकारी संस्था लिं डुमरवाना भित्र आर्थिक अनियमितताको बिषयमा सहकारी विभागले छानबिन गर्ने भएको छ ।
भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं २ ले सानाकिसान कृषि सहकारी संस्था भित्र ठुलो आर्थिक अनियमितता भएको र संस्था कानुन बिपरित चलेको भन्दै यस विषयमा विस्तृत छानविन गर्न सहकारी विभागलाई पत्र पठाएपछि विभागले यस विषयमा गम्भिर चासो देखाएको हो ।
सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले सानाकिसान कृषि सहकारी संस्थाभित्र अनियमिता भए वा नभएको र संस्था नियमविपरित चलेको वा नचलेको सम्वन्धमा विभागले गम्भिर ढंगले अध्ययन गरेर छानबिन गर्ने बताउँनुभएको छ । ९ हजार सेयर सदस्य रहेको सो सहकारीले बाराको तिनओटा स्थानीय तहहरु जितपुरसिमरा , निजगढ र कोहल्वी नगरपालिका गरी ५ ओटा शाखा मार्फत आर्थिक कारोवार गरेको छ ।
कानुनी रुपमा एकभन्दा बढि स्थानीय तहमा बिस्तार भएको सहकारीको नियमन तथा छानविन गर्ने सम्पुर्ण अधिकार प्रदेशलाई दिईएको छ तर प्रदेश सरकारसँग सहकारी नियमन सम्बन्धि आवश्यक कानुन नभएको भन्दै यसको छानविन र अध्ययन गर्न प्रदेशले सहकारी विभागलाई पत्र पठाएको छ ।
९ हजार सेयर सदस्य रहेको सानाकिसान कृषि सहकारी संस्था लि. डुमरवानामा शेयर सदस्यहरुको निक्षेप मात्रै ८० करोड रहेको छ भने १ अर्व २५ करोडको संस्थाको आर्थिक कारोवार छ । विगतमा संस्थाको सञ्चालक समितिका अध्यक्ष शिव अधिकारी उपाध्यक्ष कमला अधिकारी र सचिव शर्माले मुख्य प्रवन्धक नारायण क्षेत्री संस्थाको नियम विपरित एकलौटी ढंगले चलेको भन्दै प्रदेश नं २ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा उजुरी दिएका थिए ।
सञ्चालक समितिले दिएको उजुरीको आधारमा विभागले कार्तिक २५ गते पत्र पठाएर संस्थाको राय सहितको आधिकारिक प्रतिक्रिया पेश गर्न संस्थालाई निर्देशन दिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्