धनुषाको सामुदायिक विद्यालयमा वैकल्पिक शिक्षाको तयारी अन्तिम चरणमा
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका तथा मिथिला नगरपालिकाले वैकल्पिक शिक्षामार्फत सामुदायिक विद्यालयहरुमा पठन पाठन शुरु गर्ने तयारी करिव करिव पुरा गरेको छ ।
जनकपुरधाममा रहेका संस्थागत विद्यालयहरुले अनलाइनमार्फत शिक्षा प्रदान गरेको करिव दुई महिना बित्न लाग्दा बल्ल सामुदायिक विद्यालयहरुमा वैकल्पिक शिक्षामार्फत पठन पाठनको तयारी गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिकाले अधिकांश विद्यालयहरुमा वैकल्पिक शिक्षामार्फत अध्यापन बढाउनका लागि कार्ययोजना तयार पार्न लगाएको छ ।
जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा ५२ वटा विद्यालयहरु रहेको र सबैमा वैकल्पिक माध्यमद्वारा पठन पाठन बढाउनका लागि कार्ययोजना शिक्षा शाखामा पेश गर्नका लागि निर्देशन दिइएको जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख रिता कुमारी मिश्रले जानकारी दिनुभयो ।
कार्ययोजना पेश गर्नका लागि आज अन्तिम दिन रहेको बताउँदै उपप्रमुख मिश्रले कार्ययोजना पेश गरेपछि तत्काल पठन पाठनको शुरु हुने बताउनुभयो ।
उहाँले उपमहानगरपालिकाको ग्रामिण वडाहरुमा वैकल्पिक सिकाई चुनौतिपूर्ण भएपनि प्रयास गर्दा सफल हुने उहाँले बताउनुभयो ।
जनकपुरधामको कतिपय ग्रामिण वडाहरुमा इन्टरनेट तथा अन्य साधनको पहँुच नभएकाले तिनीहरुलाई कसरी वैकल्पिक शिक्षामा समेट्न सकिन्छ भन्ने विषयमा सुझाव आइरहेको पनि शिक्षा शाखाका अधिकृत अंजु पाण्डेले जानकारी दिनुभयो ।
यसै गरी मिथिला नगरपालिकाले पनि वैकल्पिक शिक्षा मार्फत पठन पाठनको शुरुआत चाडै गर्ने तयारी गरेको शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख बरखुप्रसाद रजकले जानकारी दिनुभयो ।
हामीले वैकल्पिक माध्यावाट पठन पाठन शुरु गर्नका लागि धनुषाका १८ वटै पालिकामा परिपत्र गर्नुका साथै विद्यार्थी संख्याको आधारमा तीन लाखदेखि पाँच लाख रकम निकासा गरको बताउँदै अहिले शिक्षा मन्त्रालयले डाटा पनि निःशुल्क दिने भएकाले इन्टरनेटमार्फत पढ्नमा कुनै कठिनाई नहुने उहाँले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्