बिस्तारै खेल गतिविधिहरु बढाउन मुख्यमन्त्री पोखरेलको आग्रह

रुपन्देही । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले खेलकुदको विकास र संरक्षणको लागि प्रदेश सरकारले खेल आवद्ध संघसंस्थासँगै मिलेर काम गर्ने र खेलकुदको विकासको लागि प्रतिवद्ध रहेको बताउनु भएको छ ।
मुख्यमन्त्री पोखरेलले युवाहरुको चाहना र राष्ट्रको पहिचानका लागि खेलको विकास जरुरी रहेको बताउँदै त्यसमा प्रदेश सरकार सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नेपाल मार्शल आर्ट हाप्किडो संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्तीमगरसहितको प्रतिनिधिमण्डलसँगको भेटमा मुख्यमन्त्री पोखरेलले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
उहाँले खेलकुदको विकासका लागि पूर्वाधार क्षेत्रको विकासमा ध्यान दिनु जरुरी रहेको बताउँदै यस प्रदेशमा सबै खेलको विकास र संरक्षणका लागि सहकार्यमा जोड दिनुभयो ।
मुख्यमन्त्री पोखरेलले कोरोनाका कारण वर्तमान असहज अवस्थामा खेल गतिविधि तथा प्रतियोगिताहरु आयोजना गर्न कठिनाई भएको कुरामा जानकार रहेको उल्लेख गर्दै आगामी दिनमा परिस्थितिअनुसार सुस्तसुस्त खेलका गतिविधिहरु अगाडी बढाउन आग्रह गर्नुभयो ।
सो अवसरमा नेपाल मार्शल आर्ट हाप्किडो संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्तीमगरले नेपालमा हप्किडो मार्शल आर्ट खेल भर्खर मात्र खेलिन थालिएको र मान्यता प्राप्त गरेको खेल भएका कारण यसको विकास गरेर लैजान बढी महेनत गर्नु परेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्