पर्वतमा अवैध रुपमा सञ्चालन भएका क्रसर उद्योग बन्द
पर्वत । पर्वतको जलजला गाउँपालिकाले कालीगण्डकी नदी किनारमा अवैध रुपमा सञ्चालन भएको क्रसर उद्योग बन्द गरेको छ ।
जलजला गाउँपालिका वडा नम्बर ७ मिलनचोकमा सञ्चालनमा रहेको बागेश्वरी एग्रीगेट एण्ड व्लक उद्योगको नाममा अवैध रुपमा कालीगण्डकी नदीमा उत्खनन् गर्दै आएकोमा गाउँपालिकाले बन्द गरिदिएको हो ।
गाउँपालिका भित्रका अवैध क्रसर उद्योग बन्द गर्ने अभियान अन्तर्गत उक्त व्लक उद्योगलाई बन्द गराइएको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले बताउनुभयो ।
स्थानीय बागबिर घर्ती क्षेत्री र शिवबहादुर घर्ती क्षेत्रीले बागेश्वरी एग्रीगेट एण्ड ब्लक उद्योगको नाममा उक्त क्रसर चलाउँदै आएका थिए ।
गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा २ को ञ ९६० को अधिकार प्रयोग गरी आइतबार उद्योगमै पुगेर बन्द गराएको जलजला गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले यसअघि २०७६ बैशाख ९ मा उद्योग बन्द गर्न निर्देशन दिएको थियो । तर पालिकाको सम्पूर्ण निर्देशन अटेर गरे पनि गाउँपालिकाले ब्यापारिक फर्मको दर्ता, अनुमति, नविकरण, खारेजी, अनुगमन र नियमन कार्यविधि २०७५ को दफा १० को उपदफा ४ बमोजिम आठौँ गाउँसभाले बागेश्वरी एग्रीगेट एण्ड ब्लक उद्योगलाई खारेज गर्ने र गाउँपालिकाबाट उपलब्ध हुने सेवा सुविधा बन्द गर्ने निर्णय गरेको थियो ।
बागेश्वरी एग्रिगेड एण्ड ब्लक उद्योगका सञ्चालक शिबबहादुर जिसीले भने गाउँपालिकाको निर्णयका बिरुद्ध कानुनी उपचार खोज्ने बताउनुभएको छ । उहाँले जिल्ला भित्रका सबै क्रसर उद्योग मापदण्ड बिपरित भएकाले ती उद्योग बन्द नभएसम्म उद्योग बन्द नगर्ने बताउनुभएको छ ।
पालिकाले पहिले क्रसर चलाउन अनुमति दिने र अहिले त्यही अनुमति खारेज गर्ने कुरा राजनैतिक पुर्वाग्रह मात्र भएको उहाँको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्