प्रदेश सरकारप्रति जनताको आस्था र विश्वास बढ्दै छ : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नंं. १ का मुख्यमन्त्री शेरधन राईले सङ्घीयता र संविधानको सफल कार्यान्वयनका कारण प्रदेश सरकारप्रति प्रदेशवासीहरुको दरिलो आसा र विश्वास कायम भएको बताउनु भएको छ ।
मुख्यमन्त्री कार्यालयमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले गुन्द्री र पिरामा बसेर शून्य अवस्थाबाट काम सुरु गरेको प्रदेश सरकारले अहिले जनताको मन जित्न सफल भएको दाबी गर्नुभयो ।
नेपाली जनताले देख्ने गरी विकास निमार्ण र कानुन निमार्ण गरेर प्रदेश सरकारले सिंहदरबारको अधिकारलाई गाउँ गाउँसम्म पुर्याउन सफल भएको उहाँले बताउनुभयो ।
मुख्यमन्त्री राईले सङ्घीयता असफल बनाउन खोज्नेहरूले प्रदेश तहको संरचना आवश्यक छैन भनेर गलत प्रचार गरिरहेको बताउनुभयो । प्रदेश विना सङ्घीयता अपुरो र अधुरो हुने उहाँको भनाई थियो ।
प्रदेश सरकार भनेको सङ्घीयता कार्यान्वयनको मुख्य पिलर हो भन्नु हुँदै यो पिलर विना सङ्घीयता सही अर्थमा कार्यान्वयन हुँदैन र सङ्घीयता समेत कमजोर हुने उहाँको भनाई थियो ।
उहाँले नयाँ संविधानले नेपालको सबै जातजाति समुदायलाई अधिकार सम्पन्न बनाएको भन्दै यो संविधान हाम्रो संविधान हो यसको स्वामित्व जनताले लिनुपर्छ भन्ने भावनको विकास सबैमा हुनु जरुरी रहेको उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री राईले कोभिड–१९ को सङ्क्रमणको अवस्थामा पनि प्रदेश सरकारले ७१ प्रतिशत पुजी गत खर्च हासिल गर्न सफल भएको बताउनुभयो । कोभिड–१९ नियन्त्रण र रोकथामका लागी तिन वटै तह सक्रिय भएर लागेकोले मुलुक चाँडै पहिलेको अवस्थामा फर्कने उहाँले बताउनुभयो ।
साझा अधिकारको सुुचिका विषयमा कानुन नबन्दा अहिले पनि केन्द्र, प्रदेश तथा स्थानीय तह बिच कतिपय विषयमा समन्वय हुन नसकेको भन्दै साझा अधिकार सम्बन्धी कानुन बनाएर ठुला आयोजना बाहेक मझौला आयोजनाहरू सङ्घले प्रदेश सरकारलाई हस्तान्तरण गर्नुुपर्नेमा जोड दिनुभयो ।
आवश्यकता पर्दा संविधान संशोधन गर्न सकिने व्यवस्था संविधानमा मिलाइएको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्