युवाहरूलाई बिना धितोमा सहुलियतपूर्ण कर्जा

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले युवाहरूलाई उत्पादनसँग जोडी स्वरोजगार बनाउन विना धितोमा सहुलियतपूर्ण कर्जा दिन सुरु गरेको छ ।
स्वरोजगार बन्न चाहने युवालाई नगरपालिकाले नेपाल बैङ्क लिमिटेडसँगको सहकार्यमा प्रतिव्यक्ति बढीमा चार लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा लगानी गर्न थालेको नगर प्रमुख वासुदेव घिमिरेले जानकारी दिनुभयो ।
पहिलो चरणमा दुई करोड रुपैयाँ कर्जा प्रवाह गर्ने गरी नगरपालिकाले युवाहरूसँग गत वैशाख २४ गते उद्यम प्रस्ताव आह्वान गरेको थियो । प्रस्ताव पेस गरेका झण्डै सात सय मध्ये पहिलो चरणमा छनौट भएका ८७ जनालाई कर्जा दिन थालिएको हो ।
शुक्रवार नगर प्रमुख वासुदेव घिमिरेले १५ जना लाभग्राहीलाई कर्जा प्रस्ताव–पत्र हस्तान्तरण गरी सहुलियत कर्जा वितरण शुभारम्भ गर्नुभयो ।
नेपाल बैङ्क लिमिटेड प्रदेश ५ का प्रमुख पासाङ दोर्जे शेर्पाले प्रस्ताव पेस गरेकाहरूमध्ये नगरपालिका र बैङ्कका प्रतिनिधि सहभागी छनौट समितिले कर्जाका लागि नाम सिफारिस गरे अनुरूप कर्जा वितरण थालिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार तिलोत्तमामा चालु आर्थिक वर्षमा नगरपालिकासँगको सहकार्यमा थप आठ करोड सहुलियत कर्जा प्रवाह गर्ने योजना छ ।








प्रतिक्रिया राख्नुहोस्