तपाईँ सुन्दै हुनुहुन्छः

‘बालबालिकामा परेको असरलाई विचार गरी आगामी कार्यक्रम बनाउन जरुरी’

फाइल तस्बिर

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले महामारीका कारण बालबालिकामा परेको असरलाई विचार गरी आगामी कार्यक्रमहरू बनाउन जरुरी रहेको बताउनुभएको छ ।

राष्ट्रिय बाल दिवसका अवसरमा मदन भण्डारी फाउण्डेसनले आज गरेको भर्चुअल अन्तरक्रियामा मन्त्री गुरुङले अनलाइन शिक्षा र त्यसको पहुँच विश्लेषण गर्दै बालबालिकाको सिकाई सम्बन्धी आगामी कार्यक्रम बनाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले कोरोना महामारीका कारण विद्यालय शिक्षा सञ्चालन हुन नसकेको अवस्थामा फाउण्डेसनले बालबालिकाको सिकाई र बाल मनोविज्ञानका विषयमा बालबालिकासँग गरिएको अन्तरक्रिया रचनात्मक कदम भएको बताउनुभयो ।

बाल शिक्षाविद् प्राध्यापक वासुदेव काफ्लेले बालबालिकालाई घरमा उत्प्रेरित वातावरण सिर्जना गर्नुपर्ने बताउनुहुँदै शिक्षक, अभिभावक र बालबालिकाले अधिकार, जिम्मेवारी, सम्बन्ध र जबाफदेहितालाई घर र विद्यालयमा भित्र्याउन सुझाव दिनुभयो ।

जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले महामारीमा बालबालिका सुरक्षित हुने उपायबारे जानकारी गराउनुभएको थियो भने बाल मनोविद् डा. गङ्गा पाठकले बालबालिकामा देखिएको मनोवैज्ञानिक असर हटाउन अपनाउनुपर्ने तौरतरिकाबारे जानकारी गराउनुभएको थियो ।

भर्चुअल माध्यमबाट गरिएको अन्तरक्रिया सात वटै प्रदेशका बालबालिका, शिक्षक तथा अभिभावकले बालबालिकामा देखिएका असर र असर न्यूनीकरण गर्न अपनाउनुपर्ने तौरतरिकाका बारेमा विज्ञहरूसँग जिज्ञासा राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button