तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा दादुरा र रुबेलाका बिरामी फेला

बैतडी । बैतडीमा दादुरा र रुबेलाका बिरामी फेला परेका छन् । यसै महिना बैतडीको पाटनमा दुई जना र दशरथचन्द नगरपालिकाका एकजनामा दादुरा रुबेलाको संक्रमण देखिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर निरीक्षक हरिश भट्टले जानकारी दिनुभयो ।

दशरथचन्द नगरपालिका २ का २ बर्षीय बालकमा रुबेलाको संक्रमण देखिएको छ भने पाटन नगरपालिका ४ का ४ बर्षीय बालक र दशरथचन्द नगरपालिका ६ की १८ बर्षीया किशोरीमा दादुरा देखिएको उहाँले बताउनुभयो ।

दादुरा रुबेला देखिएका दुवै ठाउँमा स्वास्थ्यकर्मीहरुले उच्च सतर्कता साथ उपचार गरिरहेको खोप सुपरभाईजर निरीक्षक भट्टले जानकारी दिनुभयो । दादुरा रुबेला देखिएका ठाउँका अन्य बालबालिकाहरुमा पनि यस्तो लक्षण देखिए नदेखिएको बारेमा स्वास्थ्यकर्मीहरुले अध्ययन गरिरहेका उहाँले बताउनुभयो ।

दादुरा रुबेलाको संक्रमण देखिएका तिनै जनाले यसअघि खोप भने लगाएको पाइएको छ । खोप लगाएर पनि दादुरा रुबेला संक्रमण देखिएकाले यसको बिषयमा अध्ययन भईरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो ।

दादुरा भएमा शरीरमा बिमिरा आउने, उच्च ज्वरो आउने, नाकबाट सिगान बग्ने, खोकी लाग्ने लगायतका लक्षण देखा पर्ने गरेका छन् । बालबालिकाहरुलाई दादुरा रुबेला रोगबाट बचाउन लागि बच्चा जन्मेको ९ महिनामा पहिलो पटक र १५ महिनामा दोश्रो पटक दादुरा रुबेला खोप लगाउने गरिन्छ ।

अहिले जिल्लामा ३ जनामा मात्रै दादुरा रुबेलाको संक्रमण देखिएकाले आत्तिहाल्नुपर्ने अवस्था नआएको तर सतर्क रहनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button